सार्थक व्युरो ।बर्दगोरिया गाउँपालिका ले छाडा पशुचौपायाको दीर्घकालीन व्यवस्थापन र गौशाला सुधारका लागि आफैं सक्रिय रूपमा अघि बढ्ने निर्णय गरेको छ। गौशालामा रहेका गाईहरूको दयनीय अवस्थाबारे सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो बढाएको हो।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर का अनुसार सडक दुर्घटना न्यूनीकरण र किसानका बाली जोगाउन वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याइए पनि हालसम्मको व्यवस्थापन प्रभावकारी हुन नसकेपछि पालिकाले प्रत्यक्ष रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
पालिकाले प्रदेश सरकारसँगको सहकार्यमा गौशालामा तीन वटा आधुनिक ट्रस, गाईलाई सहज रूपमा घाँस खुवाउन डुँड, मूत्र सङ्कलन तथा मल भण्डारण कक्ष जस्ता संरचना निर्माण गरिसकेको छ। यससँगै खानेपानीका लागि बोरिङ जडान र सुरक्षित घेराबार पनि गरिएको छ।
यद्यपि पूर्वाधार तयार भए पनि व्यवस्थापन समितिको कार्यशैली र अनुगमन अभावका कारण पशुको हेरचाहमा समस्या देखिएको अध्यक्ष कुँवरले स्वीकार गरेका छन्। अब गौशालालाई नमुना केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित हालको व्यवस्थापन समिति खारेज गरी पालिकाले प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने तयारी गरिएको छ।
पालिकाले गौशालाका लागि छुट्टै ट्र्याक्टर, ट्रली र हैरोको व्यवस्था गर्ने, समयमै आहार संकलन गर्ने, पशु चिकित्सकबाट नियमित स्वास्थ्य परीक्षण गराउने तथा परिसरभित्रै उन्नत जातको घाँस खेती गरी वर्षभरि आहार सुनिश्चित गर्ने योजना बनाएको छ।
साथै, आफ्ना पशुहरू बेवारिसे रूपमा सडकमा छाड्ने किसानलाई पहिचान गरी कारबाही गर्ने नीति पनि ल्याइने जनाइएको छ।
हाल गौशालामा २४० गाई रहेका छन् भने तिनको हेरचाहका लागि छ जना कर्मचारी खटिएका छन्। चार जनाले गाई चराउने र दुई जनाले गोठ सरसफाइ तथा अन्य व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन्।
गौशालाका अध्यक्ष देव चौधरी का अनुसार वार्षिक १० लाख बजेटमध्ये अधिकांश रकम कर्मचारीको तलबमै खर्च हुने हुँदा गाईका लागि आवश्यक आहार व्यवस्थापनमा समस्या भइरहेको छ।
गौशालाको अवस्था सार्वजनिक भएपछि समाजसेवी भीम उपाध्याय को पहलमा आर्थिक सहयोग जुटाइएको छ। यस सहयोगबाट हाल पोसिलो घाँस, पराल तथा खानेपानी र भकारो व्यवस्थापनमा सुधार ल्याउन मद्दत पुगेको जनाइएको छ।


















Discussion about this post