सार्थक व्युरो ।क्षयरोग जनस्वास्थ्यका दृष्टिले प्रमुख समस्याका रूपमा रहेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा यसको संक्रमण बढ्दै गएको पाइएको छ। उपलब्ध उपचार प्रणाली प्रभावकारी भए पनि अपेक्षाअनुसार बिरामी पहिचान हुन नसक्दा रोग नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
स्वास्थ्य निर्देशनालय दीपायल का क्षयकुष्ठ निरीक्षक मनोज ओझा का अनुसार उपचार पद्धति सुदृढ भए पनि ठूलो सङ्ख्यामा बिरामी अझै उपचारको पहुँचबाहिर छन्। उनका भनाइमा करिब ४० प्रतिशत संक्रमित अझै उपचारमा नआएको अनुमान गरिएको छ, जसले मृत्यु दरमा समेत प्रभाव पारिरहेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार लक्षण देखिए पनि समयमै स्वास्थ्य संस्थामा नजानु, सबै क्षेत्रमा परीक्षणको पहुँच विस्तार नहुनु, फिल्डस्तरमा सक्रिय खोजी कार्य कमजोर हुनु र ढिलो उपचार सुरु गर्नुजस्ता कारणले रोगीको संख्या बढिरहेको छ।
जनघनत्व, बसाइँसराइ, भारतसँगको खुला सिमाना, आर्थिक अभाव र जनचेतनाको कमीले पनि रोग नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको छ। प्रदेशमा दर्ता भएका बिरामीमध्ये ६५ वर्षभन्दा माथिका करिब २६ प्रतिशत रहेका छन्। कुल सङ्ख्याका हिसाबले सबैभन्दा धेरै बिरामी कैलालीमा छन् भने प्रतिलाख जनसङ्ख्यामा कञ्चनपुरमा उच्च दर देखिएको छ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २,८२६ जना रहेका बिरामी संख्या २०७८/७९ मा ३,४२४ पुगेको थियो। त्यसपछि २०७९/८० मा ३,२१४, २०८०/८१ मा ३,६१८ र २०८१/८२ मा ३,६४८ बिरामी दर्ता भएका छन्।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेशभर १,८४० बिरामी भेटिएका छन्। तीमध्ये कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ जना छन्। अन्य जिल्लाहरूमा पनि बिरामी संख्या क्रमशः देखिएको छ।
यस अवधिमा ६५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। नेपालमा कुल क्षयरोगीमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सोसम्बन्धी संक्रमणका बिरामी हुने अनुमान गरिएको छ भने शरीरका अन्य अंगहरूमा समेत संक्रमण फैलिन सक्ने चिकित्सकहरू बताउँछन्।
सरकारले क्षयरोगको उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ। सन् २०३५ सम्म क्षयरोग उन्मूलन गर्ने तथा मृत्यु दरमा ९५ प्रतिशत कमी ल्याउने लक्ष्य लिइएको छ।
स्वास्थ्यकर्मीहरूले लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने, तौल घट्ने वा अत्यधिक पसिना आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन्।


















Discussion about this post