सार्थक व्युरो । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। अंग्रेजी विषयको परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिक धाराका विद्यार्थीहरू गरी उक्त संख्या अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडी ले जनाएको छ।
नियमिततर्फ ३ हजार ७२८ परीक्षार्थीमध्ये ३९ जना (१३ छात्र र २६ छात्रा) परीक्षा दिन उपस्थित भएनन्। यस्तै ग्रेडवृद्धितर्फ ६३० मध्ये १६ जना (६ छात्र र १० छात्रा) अनुपस्थित रहे। प्राविधिक धारामा भने २०५ मध्ये एक जना मात्र परीक्षा छुटाएका छन्।
अनुपस्थित हुने प्रमुख कारणका रूपमा बेरोजगारी देखिएको छ। इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थी का अनुसार रोजगारीको खोजीमा धेरै युवायुवती भारततर्फ जाने भएकाले फाराम भरे पनि परीक्षामा सहभागी हुन नसक्ने अवस्था देखिएको हो। त्यस्तै कम उमेरमै विवाह, बसाइँसराइ तथा अन्य पारिवारिक कारणले पनि उपस्थिति घट्ने गरेको बताइएको छ।
प्राविधिक धाराका विद्यार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालय मा परीक्षा केन्द्र तोकिएको छ भने अन्य धाराका परीक्षार्थीका लागि जिल्लाभर २५ केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ। यस वर्ष बैतडीमा कुल ४ हजार ५५१ परीक्षार्थी सहभागी रहेका छन्।सम्बन्धित निकायका अनुसार परीक्षा जिल्लाभर शान्तिपूर्ण र मर्यादित वातावरणमा सञ्चालन भइरहेको छ।


















Discussion about this post