कञ्चनपुरमा चोरीका घटना बढ्दो, बाघ गणनाको क्यामेरा समेत गायब

सार्थक डेस्क।कञ्चनपुर जिल्लामा पछिल्ला दिनमा चोरीका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएको क्यामेरा चोरी भएको घटना सार्वजनिक भएको छ।
निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले का अनुसार लालझाडी मोहना संरक्षित क्षेत्रमा राखिएको एक स्वचालित क्यामेरा र त्यससँग सम्बन्धित आठवटा मेमोरी कार्ड हराएका छन्। उनले बताएअनुसार क्यामेरा राखिएको स्थानबाट एउटा क्यामेरा पूर्ण रूपमा चोरी भएको छ भने अर्को क्यामेराबाट मेमोरी कार्ड निकालेर लगिएको छ।
उनका अनुसार चोरीमा संलग्न व्यक्ति स्थानबारे जानकार रहेको आशंका गरिएको छ, किनभने उपकरणसँगै डाटा संकलन गर्ने मेमोरी कार्डसमेत लगिएको छ। घटनापछि चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर खोजी कार्य अघि बढाइएको छ।
उक्त क्षेत्रमा फागुन २६ गतेदेखि बाघ गणनाको काम सुरु गरिएको थियो। गणनाका लागि करिब २ सय ६० वटा ग्रीड निर्माण गरी प्रत्येक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिएको छ। सामान्यतया एउटा स्थानमा कम्तीमा १५ दिनसम्म क्यामेरा राखेर बाघको गतिविधि र आवागमनको अध्ययन गरिन्छ।
यस अवधिमा क्यामेराको नियमित अनुगमन, ब्याट्री परीक्षण तथा मेमोरी कार्डमार्फत तस्बिर संकलनको काम हुँदै आएको थियो। हालसम्म शुक्लाफाँटा र लालझाडी क्षेत्रमा राखिएका क्यामेरा संकलन गरिसकिएको र अहिले डडेलधुराको जोगबुडा क्षेत्रमा क्यामेरा जडान गर्ने काम जारी रहेको निकुञ्ज कार्यालयले जनाएको छ।
यसैबीच, आइतबार राति महेन्द्रनगर बजारस्थित मदनचोक क्षेत्रमा पनि आधा दर्जन पसलका सटर फोडेर चोरी गरिएको छ। जिल्लाभरि लगातार भइरहेका यस्ता घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित