गेटामा पहिलोपटक विश्वविद्यालय सभा बैठक आयोजना हुँदै

सार्थक डेस्क।कञ्चनपुरको गेटामा अवस्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा पहिलोपटक विश्वविद्यालय सभा (सिनेट) बैठक आयोजना हुने भएको छ। विश्वविद्यालयको चौथो सभा बैठक भोलि (बुधबार) बिहान ९ बजेदेखि विश्वविद्यालय परिसरमै बस्ने तयारी गरिएको छ।
विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशी ले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो। यसअघि भएका तीनवटा सभा बैठक संघीय राजधानी काठमाडौँ मा सम्पन्न भएका थिए भने यसपटक पहिलोचोटि विश्वविद्यालयकै परिसरमा बैठक आयोजना गर्न लागिएको हो।
बैठकमा विश्वविद्यालयसँग सम्बन्धित विभिन्न नियमावली तथा कार्यविधिहरूको स्वीकृति र मनोनयन, आर्थिक तथा खरिदसम्बन्धी नियमावलीमाथि छलफल हुने जनाइएको छ। साथै, विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेको शिक्षण अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत विमर्श गरिनेछ।
उक्त बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा स्वास्थ्य सचिव, चिकित्सक शिक्षा आयोग का उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोग का अध्यक्ष, प्रदेशका मुख्यमन्त्रीसहित १७ जना सदस्यहरूको सहभागिता रहनेछ। बैठकको अध्यक्षता विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीले गर्ने कार्यक्रम तय गरिएको छ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि एमबिबिएससहितका चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। हाल गेटामा विश्वविद्यालय पूर्ण सञ्चालनको प्रतीक्षामा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित