जाँचबुझ आयोगको प्रतिवेदनप्रति रमेश लेखकको असन्तुष्टि, पूर्वाग्रही र अप्रमाणित भएको आरोप

सार्थक व्युरो । पूर्वगृहमन्त्री रमेश लेखक ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र अप्रमाणित भएको बताएका छन्।
उनले उक्त प्रतिवेदनकै आधारमा आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएको दाबी गरेका छन्। सर्वोच्च अदालतको परमादेशपछि १३ दिन हिरासतमा बिताएर रिहा भएको भोलिपल्ट शुक्रबार लेखकले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनका नाममा तयार पारिएको प्रतिवेदन अपूर्ण र तथ्यहीन रहेको उल्लेख गरेका छन्। सोही आधारमा आफूविरुद्ध फौजदारी मुद्दा लगाई १३ दिनसम्म हिरासतमा राखिएको भए पनि अन्ततः रिहा हुनुपरेको उनले बताएका छन्।
नेपाली कांग्रेसका नेता लेखकले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गर्दै आफू कानुनप्रति प्रतिबद्ध रहेको र न्यायका लागि कानुनी तथा राजनीतिक रूपमा लडाइँ जारी राख्ने उल्लेख गरेका छन्।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि बुधबार हाजिर जमानीमा रिहा भएका थिए। लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी बलको २ नम्बर गणमा राखिएको थियो भने ओली स्वास्थ्य उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका थिए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले दुवै नेतालाई चैत १४ गते नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित