सार्थक डेस्क।कञ्चनपुरको बेदकोट नगरपालिकामा एक बालकमाथि गरिएको अमानवीय व्यवहारले स्थानीय समुदाय मात्र होइन, समग्र समाजलाई स्तब्ध बनाएको छ। सामान्य खेलकुदका क्रममा भएको सानो घटनाले हिंसात्मक रूप लिँदा एक नाबालक गम्भीर घाइते हुन पुगेका छन्।
बेदकोट नगरपालिका–५, पोलखरी क्षेत्रस्थित नदी किनारमा केही बालबालिका क्रिकेट खेलिरहेका थिए। खेलकै क्रममा बल नजिकैको खेतबारीमा पुगेपछि ९ वर्षीय तपेन्द्र भण्डारी बल लिन त्यहाँ पुगेका थिए। यही क्रममा खेतधनी भोज नाथले बालकलाई तरभुजा चोर्न आएको आरोप लगाउँदै नियन्त्रणमा लिएर हातखुट्टा बाँधेर कुटपिट गरेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।
घटनाको यतिमै अन्त्य भएन। स्थानीय स्रोतका अनुसार बालकलाई कुटपिटपछि घरमा लगेर पुनः बाँधिएको अवस्थामा कुकुर लगाएर आक्रमण गराइएको आरोप पनि बाहिर आएको छ। कुकुरको टोकाइबाट बालक गम्भीर रूपमा घाइते भएका छन् र उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ।
घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै यसले व्यापक आक्रोश निम्त्याएको छ। भिडियोमा आरोपित व्यक्तिले आक्रोशपूर्ण अभिव्यक्ति दिएको समेत सुनिएको छ, जसले घटनाको गम्भीरता अझै बढाएको छ।
स्थानीय जनप्रतिनिधि बेदकोट–५ का वडाध्यक्ष चित्रदेव भट्टले घटनाबारे जानकारी पाएपछि आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। उनले निर्दोष बालकमाथि भएको यस्तो व्यवहार असह्य र निन्दनीय रहेको उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। साथै, यस विषयमा प्रहरीमा उजुरी परिसकेको र अनुसन्धान अघि बढेको जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेमबहादुर शाहीका अनुसार घटनामा संलग्न भोज नाथविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकासमेत छानबिनको दायरामा रहेको प्रहरीले जनाएको छ।
बालकका अभिभावक भारतमा रहेका कारण उनी हाल आफन्तको संरक्षणमा बस्दै आएका थिए। यो घटनाले बालबालिकाको सुरक्षा, सामाजिक संवेदनशीलता र मानवीय मूल्यप्रतिको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ।


















Discussion about this post