एआई र साइबर सुरक्षा शिक्षामा नयाँ सहकार्य, विद्यार्थीलाई उद्योगसँग जोड्ने लक्ष्य

सार्थक व्युरो ।नेपालको सूचना प्रविधि शिक्षा र उद्योगबीचको दूरी घटाउने उद्देश्यसहित टेकपाइला इनोभेसन प्रालि र कान्तिपुर सिटी कलेज (केसीसी) बीच सहकार्य सम्झौता भएको छ। उक्त समझदारीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षाजस्ता आधुनिक प्रविधिमा विद्यार्थीलाई दक्ष बनाउँदै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
पुतलीसडकस्थित कलेज परिसरमा बिहीबार आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी तथा कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार विद्यार्थी र प्राध्यापकका लागि एआई तथा साइबर सुरक्षासम्बन्धी विशेष तालिम, कार्यशाला र बुटक्याम्प सञ्चालन गरिनेछ। साथै योग्य विद्यार्थीलाई इन्टर्नसिप र प्रत्यक्ष कार्यअनुभव प्रदान गरिने तथा विभिन्न प्रविधि कम्पनीसँगको नेटवर्कमार्फत रोजगारीका अवसरसमेत उपलब्ध गराइने जनाइएको छ।
दुवै संस्थाले संयुक्त रूपमा कलेजको पाठ्यक्रमलाई समयसापेक्ष र अन्तर्राष्ट्रिय प्रविधि मापदण्डअनुसार परिमार्जन गर्न सहकार्य गर्ने भएका छन्। यसका साथै “ह्याकाथन”, “आइडिया फेस्ट” तथा उद्योग–शिक्षा संवादजस्ता कार्यक्रम आयोजना गरी अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना रहेको छ।
कार्यक्रममा बोल्दै टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारीले प्रयोगात्मक शिक्षाको महत्व उल्लेख गर्दै उद्योगको अनुभवलाई प्रत्यक्ष कक्षाकोठासम्म पुर्‍याउने प्रयासले दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई वास्तविक समस्या समाधान गर्ने क्षमतासहित तयार पार्न आधुनिक पाठ्यक्रम र प्रभावकारी मेन्टरसिप आवश्यक रहेको धारणा राख्नुभयो।
त्यस्तै, केसीसीका प्रिन्सिपल राजु कट्टेलले सूचना प्रविधि शिक्षामा कलेजको अग्रणी भूमिकालाई निरन्तरता दिँदै विद्यार्थीलाई अत्याधुनिक प्रयोगशाला, विज्ञहरूको मार्गदर्शन तथा उद्योगमान्य प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार यस सहकार्यले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि थप सक्षम बनाउनेछ।
सम्झौतामा सुरक्षा अडिट तथा सामाजिक प्रभावका लागि एआईमा आधारित समाधान विकासमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। टेकपाइलाको प्राविधिक अनुभव र केसीसीको शैक्षिक क्षमताको संयोजनले “डिजिटल नेपाल” अभियानलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
दुई वर्षका लागि प्रारम्भ गरिएको यो सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने दुवै पक्षले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित