सार्थक व्युरो ।प्रत्येक करिब ३२ महिना १६ दिनपछि पर्ने अधिकमास अर्थात् मलमास आजदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ।
वैदिक ज्योतिष अनुसार सौर र चान्द्र गणनाबीच सन्तुलन कायम गर्न निश्चित अवधिपछि अधिकमास पर्ने परम्परा रहेको छ। एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिने ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेल ले बताउनुभयो।
उहाँका अनुसार चान्द्र महिनाभित्र दुईवटा सङ्क्रान्ति परेमा त्यसलाई ‘क्षयमास’ भनिन्छ। ज्योतिषीय ग्रन्थहरूमा अधिकमास र क्षयमासबारे स्पष्ट व्याख्या गरिएको उल्लेख गर्दै उहाँले क्षयमास विरलै पर्ने जानकारी दिनुभयो। यसअघि २०२० सालमा क्षयमास परेको बताइएको छ।
धार्मिक मान्यता अनुसार अधिकमासलाई विशेष पूजा–आराधना, जप, ध्यान तथा धार्मिक साधनाका लागि उपयुक्त समय मानिन्छ। धर्मशास्त्रविद् एवं समितिका सदस्य देवमणि भट्टराई का अनुसार यस अवधिमा नियमित रूपमा गरिँदै आएका व्रत, पूजा र धार्मिक कर्मलाई निरन्तरता दिन सकिने भए पनि नयाँ व्रत सुरु गर्न उपयुक्त मानिँदैन।
उहाँले विवाह, व्रतबन्ध, गृहप्रवेश, घर निर्माण तथा अन्य शुभ–माङ्गलिक कार्य अधिकमासमा नगर्ने परम्परा रहेको बताउनुभयो। गर्भाधानसम्बन्धी कार्यसमेत यस समयमा नगर्न सुझाइन्छ। बृहस्पति वा शुक्र अस्त भएका बेला निषेध गरिने अधिकांश कर्म अधिकमासमा पनि वर्जित मानिने धार्मिक मान्यता छ।
अधिकमाससँग जोडिएको धार्मिक कथाअनुसार देवताविहीन मानिएको मलमासले भगवान् श्रीकृष्ण समक्ष आफ्नो पीडा व्यक्त गरेपछि भगवान्ले यसलाई ‘पुरुषोत्तममास’ नाम प्रदान गर्नुभएको उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ। त्यसपछि यो महिना धार्मिक दृष्टिले विशेष महत्व बोकेको मानिन्छ।
यता काठमाडौंको दक्षिणपश्चिम क्षेत्रमा रहेको मत्स्यनारायण मन्दिर मा अधिकमासभर विशेष मेला लाग्ने परम्परा छ। मलमास अवधिभर देशका विभिन्न भागबाट ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि यहाँ पुग्ने गर्छन्।
घनश्याम गिरी का अनुसार अधिकमासभर मन्दिरमा भगवान् नारायणको विशेष पूजा, धार्मिक अनुष्ठान तथा पुरुषोत्तममास माहात्म्य वाचन कार्यक्रम सञ्चालन गरिनेछ।
धर्मग्रन्थहरूमा अधिकमासका बेला भगवान् विष्णुको आराधना गरे पुण्य प्राप्त हुने तथा पाप नाश हुने विश्वास गरिएको छ। यसअघि २०८० सालको साउन महिनामा पनि अधिकमास परेको थियो। त्यस समयमा घरघरमा पुरुषोत्तममास सम्बन्धी कथा पाठ तथा धार्मिक कार्यक्रम सञ्चालन गरिएका थिए।


















Discussion about this post