एमाले केन्द्रीय सदस्यको कार्यविभाजन ओली–पोखरेलले टुंग्याउने

सार्थक व्युरो । नेकपा एमालेले केन्द्रीय सदस्यहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई दिएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीले संगठनात्मक संरचना मजबुत बनाउने उद्देश्यसहित जिम्मेवारी बाँडफाँट प्रक्रिया अघि बढाएको हो।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा सम्पन्न सचिवालय बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि आएका सुझावलाई समेट्दै आवश्यक परिमार्जन गर्ने जिम्मा महासचिव पोखरेललाई दिने निर्णय गरेको हो। महासचिवले अध्यक्षसँगको परामर्शमा प्रस्ताव संशोधन गर्ने र अन्ततः अध्यक्ष ओलीले त्यसलाई स्वीकृत गरी सर्कुलरमार्फत कार्यान्वयनमा लैजाने निर्णय भएको पार्टी स्रोतले जनाएको छ।
पार्टीले आगामी निर्वाचनलाई ध्यानमा राख्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तह केन्द्रित जिम्मेवारी तथा जनसङ्गठनहरूको इञ्चार्जको भूमिकामा खटाउने तयारी गरेको छ। यसले तल्लो तहसम्म संगठन विस्तार र चुनावी तयारीलाई प्रभावकारी बनाउने एमालेको अपेक्षा छ।
त्यसैगरी बैठकले पार्टी पुनर्गठन, संगठनात्मक समीक्षा तथा प्रतिनिधिसभा निर्वाचनको समग्र मूल्याङ्कनका विषयमा थप अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको उक्त कार्यदललाई एक महिनाभित्र सुझावसहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।
बैठकको अन्तिम दिन अध्यक्ष ओलीले पार्टीभित्र एकता र अनुशासन कायम राख्दै संगठनलाई थप सुदृढ बनाउन सबै नेताहरूलाई आग्रह गरेको पार्टी स्रोतले जनाएको छ।
एमालेले यस निर्णयलाई आगामी राजनीतिक तथा निर्वाचन रणनीतिसँग जोडेर संगठनलाई अझ सक्रिय र संरचित बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित