टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्न कानुन निर्माणको तयारी

सार्थक व्युरो । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार गर्ने प्रक्रिया अघि बढाएको छ। प्रदेश सरकारले विश्वविद्यालय सञ्चालनसम्बन्धी विधेयक प्रदेश सभामा प्रस्तुत गरेसँगै ऐन निर्माणको तयारी तीव्र बनाएको हो।
विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आर्थिक विकास र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने उद्देश्यले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक’ प्रदेश सभामा दर्ता गरिएको छ। उक्त विधेयक गत वर्ष नै सचिवालयमा दर्ता भए पनि हालै सामाजिक विकासमन्त्री मेघराज खड्काले प्रदेश सभामा औपचारिक रूपमा पेश गर्नुभएको हो।
विधेयकमाथि छलफलका क्रममा मन्त्री खड्काले संविधानले प्रदेश सरकारलाई विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी नीति निर्माण र सञ्चालनको अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँले शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सिपमूलक तथा रोजगारमुखी बनाउने संवैधानिक लक्ष्यअनुसार प्रदेश सरकारले यो पहल थालेको बताउनुभयो।
मन्त्री खड्काका अनुसार देशमा विभिन्न विश्वविद्यालय भए पनि विज्ञान तथा प्रविधिमा केन्द्रित विशिष्ट विश्वविद्यालयको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो। सोही आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकारले विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ।
प्रस्तावित विश्वविद्यालयमार्फत विज्ञान तथा प्रविधिका विविध विषयमा गुणस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्दै उच्च र मध्यमस्तरका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ। साथै परम्परागत ज्ञान, सीप र अभ्यासलाई वैज्ञानिक ढंगले अध्ययन तथा संरक्षण गर्दै आधुनिक प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
विधेयकमा विश्वविद्यालयलाई स्वायत्त तथा संगठित संस्थाका रूपमा सञ्चालन गरिने व्यवस्था प्रस्ताव गरिएको छ। विश्वविद्यालयको संरचनामा संरक्षक परिषद्, कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, विभिन्न सङ्काय, महाविद्यालय, सल्लाहकार परिषद् लगायतका निकाय रहने उल्लेख गरिएको छ
त्यसैगरी कुलपति, सहकुलपति, उपकुलपति, रजिस्ट्रार, सङ्काय निर्देशक तथा महाविद्यालय प्रमुखसहित आवश्यक पदाधिकारीहरूको व्यवस्था गरी विश्वविद्यालय सञ्चालन गरिने प्रस्ताव विधेयकमा समेटिएको छ।
प्रदेश सरकारले यो विश्वविद्यालयलाई सुदूरपश्चिममा विज्ञान, प्रविधि र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित