महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरी जवान र स्थानीयवासी मृत फेला

सार्थक व्युरो । महाकाली नदीमा हराइरहेका सशस्त्र प्रहरी जवान र एक स्थानीयवासीको शव तीन दिनपछि फेला परेको छ। दार्चुला–डडेल्धुरा सीमाक्षेत्रस्थित परिगाउँ नजिक नदीमा बेपत्ता भएका दुवै जनाको खोजीपछि शव बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बिओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार तीर्थबहादुरको शव परिगाउँ क्षेत्रको कल्पठ्ठेथान नजिक महाकाली नदीको किनारमा फेला परेको हो। यता जवान पुनको शव भने कञ्चनपुरको ब्रह्मदेव क्षेत्रभन्दा पारि भारतको टनकपुर आसपास महाकाली नदी किनारमा भेटिएको बताइएको छ।
गत शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जनाको खोजी कार्य जारी रहेका बेला नदी किनारमा प्रयोग गरिएको ट्युब भेटिएपछि उनीहरू नदीमा डुबेको आशंकामा खोजीलाई तीव्र बनाइएको थियो।
प्रहरीले तीर्थबहादुरको शव परीक्षणका लागि जोगबुडा अस्पताल पठाउने तयारी गरेको छ भने जवान पुनको शव महेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा परीक्षण गरिने जनाएको छ।
घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित