सार्थक व्युरो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुई प्रदेशसभा सदस्यसँग स्पष्टीकरण माग गरेको छ।
संसदीय दलले प्रदेशसभा सदस्यद्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। दुवै सांसद पूर्व नागरिक उन्मुक्ति पार्टीका नेता हुन् भने उक्त पार्टी गत फागुनमा नेकपामा समाहित भएको थियो।
संसदीय दलका नेता खगराज भट्टले पठाएको पत्रमार्फत संसदीय दलका बैठकहरूमा लगातार अनुपस्थित रहनुका साथै दलको समायोजन प्रक्रियामा आवश्यक सहयोग नगरेको आरोप लगाइएको छ। दलले यी गतिविधिलाई पार्टी विधान र संसदीय अनुशासनविपरीत ठहर गर्दै ४८ घण्टाभित्र स्वयं उपस्थित भई स्पष्ट जवाफ दिन आग्रह गरेको छ।
स्पष्टीकरण पत्रमा प्रतिनिधिसभा निर्वाचनका बेला पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको तथा विपक्षी उम्मेदवार र दलको पक्षमा प्रचारप्रसारमा संलग्न भएको आरोपसमेत उल्लेख गरिएको छ। संसदीय दलले आरोपबारे तथ्यसहितको चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ।
तोकिएको समयभित्र स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि पत्रमार्फत दिइएको छ।
यसबीच नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले नेकपाका पाँच प्रदेशसभा सदस्य आफ्नो पक्षमा रहेको दाबी गरिरहेका बेला दुई सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।
गत साता धनगढीस्थित एक होटलमा नेकपाको संसदीय दलको बैठक बसेको थियो। बैठकमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठको सहभागी भएका थिए। सो अवसरमा प्रचण्डले पार्टी र संसदीय दलको निर्णयविपरीत गतिविधि गर्ने तथा संगठनात्मक अनुशासन उल्लंघन गर्ने जनप्रतिनिधिविरुद्ध कडा कदम चालिने चेतावनी दिनुभएको बताइएको छ।


















Discussion about this post