प्रतिनिधिसभामा अवरोधपछि सभामुख अर्यालले मागे विपक्षीको सहयोग

सार्थक व्युरो । प्रतिनिधिसभा बैठक सञ्चालनका क्रममा उत्पन्न अवरोध र राजनीतिक विवादबीच सभामुख डीपी अर्यालले संसदका समस्या समाधानका लागि विपक्षी दलहरूको सहयोग आवश्यक रहेको बताउनुभएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो धारणा राख्नुभएको हो।
सभामुखले विपक्षी दलहरूसँग निरन्तर संवादको प्रयास गरेको दाबी गर्दै पटक–पटक छलफलका लागि आग्रह गर्दा पनि अपेक्षित समय र सहयोग प्राप्त नभएको बताउनुभयो। उहाँले संसद सञ्चालनलाई सहज बनाउन सबै दलबीच सहकार्य र संवाद आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
बैठकमा बोल्दै सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया संविधान र प्रचलित नियमअनुसार नै अघि बढाइएको जिकिर गर्नुभयो। उहाँले सभामुखको भूमिकाअनुसार विधेयकमा दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने काम मात्र गरेको स्पष्ट पार्नुभयो।
सभामुखले आफूले संसदीय प्रक्रिया र नियमको पालना गर्दै जिम्मेवारी निर्वाह गरेको बताउँदै कुनै पनि निर्णय नियमविपरीत नभएको दाबी गर्नुभयो।
यता केही सांसद तथा विपक्षी दलका नेताहरूले भने सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सदन सञ्चालनमा निष्पक्षता र सहमतिमूलक अभ्यासलाई थप प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। प्रतिनिधिसभामा पछिल्ला दिनहरूमा देखिएको विवादका कारण संसदको कामकारबाही प्रभावित हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित