सार्थक व्युरो । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले विवादास्पद अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी नमागेसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेका छन्।
कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर स्पष्टिकरणसहित माफी माग्नुपर्ने निष्कर्ष निकालेको हो।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत रहेको ठहर गर्दै त्यसबारे जिम्मेवारीपूर्वक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। उहाँले प्रधानमन्त्रीले विवादित भनाइ सच्याएर माफी नदिएसम्म विपक्षी दलहरू आफ्नो अडानमा कायम रहने जानकारी दिनुभयो।बैठकमा कांग्रेससहित, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका नेताहरू सहभागी थिए । प्रधानमन्त्री शाहले हालै दिएको अभिव्यक्तिमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको उल्लेख गर्दै नेपालले पनि भारतका केही स्थानमा भूमि अतिक्रमण गरेको दाबी गर्नुभएको थियो। उक्त भनाइ सार्वजनिक भएपछि विभिन्न राजनीतिक दलहरूले आपत्ति जनाउँदै संसदमा विरोध गरिरहेका छन्।


















Discussion about this post