सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजना स्वीकृत, विकासका प्राथमिकता तय

सार्थक व्युरो । सुदूरपश्चिम प्रदेशको आगामी पाँच वर्षको विकास मार्गचित्र समेटिएको दोस्रो पञ्चवर्षीय योजनाको प्रारम्भिक मसौदा स्वीकृत भएको छ। प्रदेश विकास परिषद्को चौथो बैठकले आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म कार्यान्वयन हुने योजनाको मस्यौदालाई अनुमोदन गरेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकबाट पारित योजनालाई अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिने जानकारी मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले दिनुभयो।
प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको उक्त योजना पहिलो पञ्चवर्षीय योजनाको उपलब्धि तथा कमजोरीको समीक्षा, संघीय सरकारको १६औँ योजना, संवैधानिक व्यवस्था, प्रचलित कानुन, आर्थिक सर्वेक्षण तथा विभिन्न क्षेत्रका सरोकारवालासँग भएका परामर्शका आधारमा निर्माण गरिएको जनाइएको छ।
योजनाले ‘समुन्नत र सुन्दर सुदूरपश्चिम’ लाई दीर्घकालीन दृष्टिकोणका रूपमा अघि सारेको छ। प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, पूर्वाधार विस्तार, स्वास्थ्य तथा शिक्षाको गुणस्तर अभिवृद्धि, वातावरणीय संरक्षण र सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, जैविक विविधताको संरक्षण तथा विपद् व्यवस्थापनलाई विशेष महत्व दिइएको योजनामा उल्लेख छ। शिक्षा क्षेत्रतर्फ गुणस्तरीय, समावेशी र सीपमुखी उच्च शिक्षाको विकासमा जोड दिइएको छ। साथै छात्रवृत्ति विस्तार, डिजिटल शिक्षण प्रणालीको विकास, अनुसन्धान प्रवर्द्धन तथा दक्ष जनशक्ति उत्पादनलाई पनि प्राथमिकतामा राखिएको छ।
कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि सार्दै यातायात, ऊर्जा, खानेपानी तथा सूचना–प्रविधि पूर्वाधारको विस्तार गर्ने रणनीति योजनामा समेटिएको छ। सामाजिक क्षेत्रमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसमेत निर्धारण गरिएको छ।
प्रदेश सरकारले उक्त योजनालाई दिगो विकास, समावेशी अर्थतन्त्र, सुशासन र डिजिटल रूपान्तरणको दिशामा मार्गनिर्देशन गर्ने महत्वपूर्ण नीतिगत दस्ताबेजका रूपमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित