मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सार्थक व्युरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसद रहेकामा एक सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिका बस्दै आएका छन्। नेपालमा रहेका १७ सांसदमध्ये ९ जनाले हस्ताक्षर गरेर शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेस स्रोतले जनाएको छ।
पछिल्लो समय कांग्रेसभित्र मुख्यमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको थियो। दलभित्रकै केही सांसदहरूले उनको राजीनामाको मागसमेत गर्दै आएका थिए। बढ्दो दबाबका बीच मुख्यमन्त्री शाहले आफूले बहुमत सांसदको समर्थन गुमाएको पुष्टि भए पद त्याग्न तयार रहेको अभिव्यक्ति दिएका थिए।
त्यसपछि असन्तुष्ट पक्षले हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो। आवश्यक समर्थन जुटाएपछि मंगलबार संसदीय दलमा औपचारिक रूपमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।
अविश्वास प्रस्ताव दर्तासँगै सुदूरपश्चिम प्रदेश कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ। अब संसदीय दलको बैठकले नेतृत्व परिवर्तन गर्ने वा वर्तमान नेतृत्वलाई निरन्तरता दिने विषयमा निर्णय गर्नेछ।
यस घटनाक्रमले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व र प्रदेशको राजनीतिक समीकरणमा समेत नयाँ बहस र चासो पैदा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित