सार्थक व्युरो । धनगढीमा राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालयको नयाँ भवन निर्माण कार्यको मंगलबार औपचारिक शुभारम्भ गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले आयोजित कार्यक्रममा भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री सार्कीले नयाँ भवन निर्माण सम्पन्न भएपछि राससको दैनिक कार्यसम्पादन अझ व्यवस्थित, सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। उनले भवनले समाचार संकलन तथा सम्प्रेषण कार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रदेश सरकारकै लगानीमा भवन निर्माण हुन लागेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाए। साथै, निर्माण कम्पनीलाई तोकिएको समयसीमाभित्र गुणस्तरीय ढंगले काम सम्पन्न गर्न आग्रह समेत गरे।
रासस प्रदेश कार्यालय भवन निर्माणको जिम्मा कैलालीस्थित पूर्वी हिमशिखर कन्स्ट्रक्सनले पाएको छ। कम्पनीका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) सहित ५४ लाख २१ हजार ५ सय ६३ रुपैयाँमा निर्माण सम्झौता भएको हो।
कार्यक्रममा रासस सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख सिद्धराज भट्टले भवन निर्माणका लागि प्रदेश सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए।


















Discussion about this post