क्यान्सर उपचारमा नयाँ आशा : परीक्षणमा १५ बिरामीको ट्युमर पूर्णरूपमा हट्यो

एजेन्सी । क्यान्सर उपचारको क्षेत्रमा आशाजनक प्रगति भएको दाबी गर्दै वैज्ञानिकहरूले नयाँ उपचार विधिको परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको बताएका छन्। उपचारका सीमित विकल्प भएका बिरामीहरूमा गरिएको परीक्षणमा केही बिरामीको ट्युमर पूर्णरूपमा हटेको पाइएको छ।
अमेरिकी औषधि कम्पनी जोनसन एन्ड जोनसनले विकास गरेको ‘एमिभान्टामाब’ नामक औषधिको ११ देशमा क्लिनिकल परीक्षण गरिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार यो ‘ट्रिपल–एक्सन’ उपचार विधिले क्यान्सर कोषिकामाथि एकैपटक विभिन्न माध्यमबाट आक्रमण गर्ने क्षमता राख्छ।
अध्ययनमा शरीरका अन्य भागमा फैलिएको, पुनः बल्झिएको वा परम्परागत किमोथेरापी तथा इम्युनोथेरापीबाट लाभ नपाएका बिरामीहरूलाई सहभागी गराइएको थियो। परीक्षणको नतिजाअनुसार एक तिहाइभन्दा बढी बिरामीमा ट्युमरको आकार उल्लेखनीय रूपमा घटेको देखिएको छ।
विशेषगरी १५ जना बिरामीमा क्यान्सरका ट्युमर पूर्णरूपमा हराएको पुष्टि भएको छ। अध्ययनमा सहभागी १०२ बिरामीमध्ये ४३ जनामा उपचारले सकारात्मक प्रभाव देखाएको थियो। तीमध्ये २८ जनाको ट्युमर सानो भएको र १५ जनाको शरीरबाट क्यान्सर पूर्णरूपमा हटेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आईसीआर) का प्राध्यापक केभिन ह्यारिङ्टनले यस्तो नतिजालाई क्यान्सर उपचार विज्ञानका लागि महत्वपूर्ण उपलब्धि भन्दै आगामी अनुसन्धान सफल भए हजारौं बिरामीले लाभ लिन सक्ने बताएका छन्।
हालको अनुसन्धान मुख्य रूपमा टाउको तथा घाँटी क्षेत्रमा हुने क्यान्सरमा केन्द्रित भए पनि फोक्सोको क्यान्सरसहित अन्य प्रकारका क्यान्सरमा समेत परीक्षण जारी रहेको जनाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार फोक्सो, पेट, मस्तिष्क, मलाशय लगायतका क्यान्सरमा करिब ६० वटा छुट्टाछुट्टै क्लिनिकल अध्ययन सञ्चालन भइरहेका छन्।
वैज्ञानिकहरूका अनुसार एमिभान्टामाबले क्यान्सर कोषिकाको वृद्धि गराउने ईजीएफआर प्रोटिनलाई निष्क्रिय बनाउनुका साथै उपचारबाट बच्न क्यान्सरले प्रयोग गर्ने जैविक मार्ग अवरुद्ध गर्छ। साथै यसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउँदै क्यान्सर कोषिकामाथि आक्रमण गर्न सहयोग पुर्‍याउँछ।
यो औषधि छालामुनि सानो सुईमार्फत दिइने भएकाले अस्पतालमा लामो समय भर्ना हुनुपर्ने आवश्यकता कम हुने बताइएको छ। प्रत्येक तीन सातामा एकपटक प्रयोग गरिने यस उपचारमा गम्भीर साइड इफेक्टको दर पनि न्यून रहेको अध्ययनले देखाएको छ।
यद्यपि विशेषज्ञहरूले यसलाई तत्काल क्यान्सरको पूर्ण उपचारको रूपमा घोषणा गर्न नहुने बताएका छन्। उपचार अझै क्लिनिकल परीक्षणकै चरणमा रहेकाले यसको दीर्घकालीन प्रभाव, सुरक्षा र विभिन्न प्रकारका क्यान्सरमा प्रभावकारिताबारे थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित