सार्थक व्युरो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको जिल्ला सभापतिमा पदमबहादुर विष्ट पुनः निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार विष्टको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन भएको पार्टीले जनाएको छ।
मतगणनाको नतिजाअनुसार सभापति पदका उम्मेदवार विष्टले १९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका थिए। विष्ट यसअघि पनि जिल्ला सभापतिको जिम्मेवारीमा रहेका थिए।
जिल्ला उपसभापति पदमा भागरथी बडाल निर्विरोध निर्वाचित भएकी छन्। यस्तै, सचिव पदमा भएको प्रतिस्पर्धामा राकेशबहादुर चन्द विजयी बने। उनले १९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रामदत्त भट्टले ५५ मत पाए।
निर्वाचनमा जिल्ला सभापति र सचिव पदका लागि कुल २५९ मत खसेको निर्वाचन समितिले जनाएको छ। सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन्।
यसैबीच, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदका लागि पनि मतदान भएको थियो। उक्त पदमा अम्बादत्त जोशी १२६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए।
नवनिर्वाचित सचिव राकेशबहादुर चन्दले नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच समन्वय तथा जिल्लामा पार्टीका गतिविधिलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। नेतृत्व चयनका लागि सहमतिको प्रयास सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन गरिएको हो।


















Discussion about this post