आगामी आर्थिक वर्षको बजेट तयारीमा कञ्चनपुरका स्थानीय तह

सार्थक व्युरो । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तथा कार्यक्रम निर्माणको तयारीमा कञ्चनपुरका स्थानीय तह सक्रिय बनेका छन्। संघीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै जिल्लाका नौवटै पालिकाले वडास्तरबाट योजना संकलन तथा प्राथमिकताका आधारमा छनोट गर्ने कार्यलाई तीव्रता दिएका छन्।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराका अनुसार वडाहरूमा बजेटको सीमा निर्धारण गरी योजना छनोटको काम अन्तिम चरणमा पुगेको छ। नगरपालिकाका विभिन्न शाखाहरूले समेत आ-आफ्ना क्षेत्रसँग सम्बन्धित कार्यक्रम तथा योजनाको तयारी गरिरहेका छन्।
उनले आगामी आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धिका कारण थप आर्थिक भार परेको जानकारी दिए। उनका अनुसार कर्मचारीको पारिश्रमिक वृद्धि हुँदा नगरपालिकामाथि मात्रै करिब तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार थपिएको छ। असार १० गतेभित्र बजेट प्रस्तुत गर्ने लक्ष्यका साथ तयारी भइरहेको र त्यसअघि सरोकारवालासँग आवश्यक छलफल गरिने उनले बताए।
चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिकाको कुल बजेट ९३ करोड रुपैयाँ रहेको छ। आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ। संघ र प्रदेश सरकारको सहकार्यमा सञ्चालित योजनाहरू सम्पन्न गर्ने तथा नगर चक्रपथ निर्माणलाई निरन्तरता दिने तयारीसमेत गरिएको छ।
यता भीमदत्त नगरपालिकाले पनि बजेट निर्माण प्रक्रिया अगाडि बढाएको छ। उपप्रमुख नीलम लेखकका अनुसार विषयगत शाखा तथा वडाहरूमा बजेट सीमा पठाइसकिएको छ र स्थानीय आवश्यकता अनुसार योजना तर्जुमा भइरहेको छ। वडाबाट प्राप्त योजनाहरूलाई समेटेर कार्यपालिकामा पेश गर्ने तयारी भइरहेको उनले बताइन्।
उनका अनुसार शिक्षा, स्वास्थ्य तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिँदै आगामी बजेट निर्माण गरिनेछ। वडास्तरबाट सिफारिस भएका योजनाहरूको अध्ययन, कार्यक्रम प्रस्ताव र विषयगत मूल्याङ्कनपछि बजेट तथा कार्यक्रमको अन्तिम रूप दिइने जनाइएको छ।
बेलौरी नगरपालिकाले पनि आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणलाई गति दिएको छ। उपप्रमुख जोगराम चौधरीले सबै १० वटै वडा तथा विषयगत शाखामा बजेट सीमा पठाइएको जानकारी दिए। शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिँदै आएको उनले बताए।
उनका अनुसार प्रदेश सरकारसमक्ष समेत आवश्यक बजेट माग गरिएको छ। अधुरा र अपूरा योजनालाई प्राथमिकतामा राख्दै आगामी बजेटमा समावेश गरिने र निर्माणाधीन आयोजनाहरू सम्पन्न गरिने योजना रहेको छ।
दोधारा चाँदनी नगरपालिकाले पनि बजेट निर्माण प्रक्रिया अघि बढाएको छ। प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीका अनुसार वडाहरूमा बजेट सीमा पठाइसकिएको छ भने योजना छनोटको कार्य जारी छ। आगामी असार ८ गते नगरसभा आह्वान गरिएको र सोहीअनुसार बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए।
कञ्चनपुरमा हाल सात नगरपालिका र दुई गाउँपालिका गरी नौ स्थानीय तह रहेका छन्। सबै स्थानीय तहले तोकिएको समयसीमाभित्र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित