सार्थक ब्यूरो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुलको सुरक्षा तथा बाढीजन्य जोखिम न्यूनीकरणका लागि नेपाली सेना पुनः परिचालन गरिएको छ। पुलको उत्तरी भागमा रहेको गाइडबण्ड संरक्षण तथा पुनर्निर्माण कार्यलाई गति दिन सेनाको जनशक्ति खटाइएको हो।
गत वर्षको वर्षायाममा आएको बाढीले करिब ३०० मिटर क्षेत्रमा गाइडबण्डमा क्षति पुर्याएपछि सरकारले प्रभावित क्षेत्रलाई तीन महिनासम्म सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दै सेनामार्फत पुनर्स्थापना कार्य सञ्चालन गरेको थियो। यस वर्ष पनि मनसुन सुरु भएसँगै सम्भावित जोखिमलाई ध्यानमा राखेर पुल र आसपासका बस्तीको सुरक्षाका लागि सेनालाई पुनः जिम्मेवारी दिइएको हो।
सडक डिभिजन कार्यालय कञ्चनपुरको समन्वयमा सञ्चालन भइरहेको संरक्षण अभियानमा सुदूरपश्चिम पृतनाअन्तर्गतका विभिन्न सैनिक युनिटबाट थप जनशक्ति परिचालन भइरहेको जनाइएको छ। श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका सहायकरथी बिजितराज रेग्मी नेतृत्वको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी आवश्यक संरचनात्मक उपायहरू अघि बढाएको जनाएको छ।
बाहिनी अड्डाका अनुसार तत्कालीन क्षति नियन्त्रण गर्नुका साथै निर्माणाधीन पुल र महाकाली नदी किनारका बस्तीलाई सम्भावित बाढीको प्रभावबाट जोगाउन प्राथमिकताका साथ काम भइरहेको छ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवका अनुसार गाइडबण्ड पुनर्निर्माणका लागि आवश्यक मेसिन उपकरण तथा प्राविधिक सहयोग कार्यालयले उपलब्ध गराइरहेको छ भने जनशक्ति व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले सम्हालिरहेको छ।
महाकाली नदीमाथि निर्माणाधीन चार लेन पुलको अधिकांश काम सम्पन्न भइसकेको छ। हालसम्म करिब ९५ प्रतिशत निर्माण सम्पन्न भएको बताइए पनि गाइडबण्डको डिजाइन तथा भेरियसन अर्डरसँग सम्बन्धित विवादका कारण निर्माण कार्य प्रभावित बनेको छ। निर्माण कम्पनीले काम रोकेपछि उक्त विषय मध्यस्थ न्यायाधिकरणमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।
स्थानीय बासिन्दा र सरोकारवाला निकायहरूले वर्षायाम पूर्ण रूपमा सक्रिय हुनुअघि गाइडबण्ड संरक्षणको काम सम्पन्न गर्न सके पुल, सडक संरचना तथा नदी किनारका बस्तीलाई बाढीको जोखिमबाट बचाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


















Discussion about this post