सार्थक ब्यूरो । नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा गरिएको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेपछि जेनजी मुभमेन्ट नेपालले सम्बन्धित मन्त्रीलाई पदबाट हटाई घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा आन्दोलनले अदालतको फैसलाले नियुक्ति प्रक्रिया पारदर्शिता, सुशासन र विधिसम्मत अभ्यासअनुकूल नरहेको स्पष्ट गरेको उल्लेख गरेको छ। योग्यताको आधारमा अग्रस्थानमा रहेका उम्मेदवारलाई बेवास्ता गर्दै अन्य व्यक्तिलाई नियुक्त गरिएको भन्दै आन्दोलनले यसलाई योग्यता प्रणालीमाथिको गम्भीर आघातको रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिअनुसार नियुक्ति प्रक्रियामाथि सर्वोच्च अदालतले नै प्रश्न उठाइसकेको अवस्थामा त्यससँग सम्बन्धित मन्त्री पदमा कायम रहनु नैतिक तथा राजनीतिक रूपमा उचित नहुने जेनजी मुभमेन्टको धारणा छ।
आन्दोलनले विवादित नियुक्ति प्रक्रियामा संलग्न व्यक्तिहरूको निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ।
साथै, सार्वजनिक निकायहरूमा भागबण्डा, नातावाद र राजनीतिक प्रभावका आधारमा नियुक्ति गर्ने प्रवृत्तिले सुशासनलाई कमजोर बनाउने चेतावनी दिँदै जेनजी मुभमेन्टले सार्वजनिक पदमा नियुक्ति गर्दा योग्यता, प्रतिस्पर्धा र पारदर्शितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।


















Discussion about this post