लाम्पाटामा संयुक्त सुरक्षा चौकी सञ्चालन, विस्थापित स्थानीय घर फर्कने तयारीमा

सार्थक ब्यूरो । बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा अस्थायी सुरक्षा चौकी स्थापना गरेका छन्। पछिल्लो समय देखिएको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी अस्थायी सुरक्षा बेस सञ्चालनमा ल्याइएको हो।
सुरक्षा निकायका अनुसार सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना सशस्त्र प्रहरी तथा प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहराको नेतृत्वमा ७ जना नेपाल प्रहरी लाम्पाटामा खटिएका छन्। उनीहरू रहने व्यवस्था मिलाएर अस्थायी सुरक्षा संरचना स्थापना गरिएको जनाइएको छ।
गत जेठ ३ र ५ गते हुम्लाबाट आएका केही व्यक्तिहरूले लाम्पाटाका बासिन्दामाथि हातपात गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो। रानीसैन–लाम्पाटा क्षेत्र हुम्ला जिल्लाभित्र पर्ने दाबी गर्दै केही व्यक्तिहरूले त्यहाँ प्रहरी चौकी स्थापना गर्न नहुने भन्दै विरोध जनाएका थिए।
घटनापछि असुरक्षाका कारण गाउँ छाडेर अन्यत्र आश्रय लिन बाध्य भएका स्थानीय बासिन्दा अब पुनः घर फर्किने तयारीमा छन्। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार सुरक्षाकर्मीको उपस्थिति बढेपछि स्थानीयमा विश्वास जागेको छ र हाल गुम्बामा बसेका अधिकांश परिवार गाउँ फर्किने तयारीमा रहेका छन्।
अध्यक्ष मल्लले गाउँको अवस्था क्रमशः सामान्य बन्दै गएको बताउँदै सुरक्षा व्यवस्था मजबुत बनेपछि नागरिकले सुरक्षित महसुस गर्न थालेको जानकारी दिए। लाम्पाटाबाट तल करिब चारदेखि पाँच घण्टाको पैदल दूरीमा रहेको गुम्बामा बसेका स्थानीयहरू अब पुनः आफ्नै घरतर्फ फर्कन थालेका छन्।
सुरक्षाकर्मी परिचालन भएपछि बाहिरी समूहको आवतजावत पनि कम भएको स्थानीय स्रोतले जनाएको छ। शान्ति सुरक्षा कायम राख्ने, सम्भावित विवाद नियन्त्रण गर्ने तथा आकस्मिक अवस्था व्यवस्थापन गर्न सरकारको तर्फबाट सुरक्षा उपस्थिति बढाइएको बताइएको छ।
दुर्गम तथा हिमाली भूगोलका कारण यसअघि लाम्पाटामा स्थायी सुरक्षा संरचना नहुँदा विभिन्न समस्या देखिँदै आएका थिए। अहिले अस्थायी रूपमा भए पनि सुरक्षा बेस र प्रहरी चौकी स्थापना गरिएकाले स्थानीय प्रशासन र नागरिकबीचको समन्वय तथा सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित