एक वर्षमै सम्पन्न भयो कर्णालीमाथिको झोलुङ्गे पुल, कैलाली–बर्दिया आवतजावत सहज

सार्थक ब्यूरो । कैलाली र बर्दियालाई जोड्ने दौलतपुरघाटस्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुल निर्धारित समयभन्दा निकै अगावै निर्माण सम्पन्न भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको पुल एक वर्षमै तयार भएपछि उद्घाटनको तयारी थालिएको छ।
थानी निर्माण सेवा ले निर्माणको जिम्मा लिएको उक्त पुलले टीकापुर नगरपालिका–५ र राजापुर नगरपालिका–१ बीच प्रत्यक्ष सम्पर्क स्थापना गरेको छ। निर्माण कम्पनीका प्रतिनिधि विक्रम बस्नेतका अनुसार २०८२ असार ११ गते सम्झौता भएको यो आयोजना २०८४ असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण कार्य समयभन्दा अगावै पूरा भएको हो। पुलको औपचारिक उद्घाटन आगामी सोमबार गर्ने तयारी भइरहेको छ।
निर्माण कम्पनीका अनुसार करिब ७५ मिटर गहिराइसम्म पाइलिङ गरेर बनाइएको बहुस्पान (मल्टी स्पान) झोलुङ्गे पुल प्राविधिक रूपमा विशेष प्रकारको छ। पुलको बीच भागमा यात्रु तथा पर्यटकले रोकिएर नदी र आसपासको दृश्य अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ। साथै मोटरसाइकल र रिक्सा पार्किङका लागि समेत स्थान निर्माण गरिएको छ।
स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत सहरी विकास मन्त्रालय को १५ करोड ७३ लाख ९५ हजार रुपैयाँ लागतमा निर्माण भएको यो पुल ४८२ मिटर लामो र १.६० मिटर चौडा रहेको छ।
पुल निर्माणअघि स्थानीय बासिन्दाले कर्णाली नदी पार गर्न डुङ्गाको प्रयोग गर्नुपर्ने वा करिब सात किलोमिटर टाढा रहेको हुलाकी राजमार्गको पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो। स्थानीयवासी सृष्टि चौधरीका अनुसार नयाँ पुल सञ्चालनमा आएपछि आवतजावतमा हुने कठिनाइ अन्त्य भएको छ।
दोधारा–चाँदनी क्षेत्रको झोलुङ्गे पुलको झल्को दिने शैलीमा निर्माण गरिएको यो पुल टीकापुर पार्क नजिकै रहेकाले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको स्थानीय अटोचालक सुन्दर चौधरीले बताए।
दौलतपुरघाटको झोलुङ्गे पुलसँगै कैलाली र बर्दियाबीच जोडिने पुलको संख्या चार पुगेको छ। २०५० सालअघि सुदूरपश्चिमका नागरिकले देशका अन्य भागमा पुग्न कर्णाली नदी फेरीमार्फत पार गर्नुपर्ने अवस्था थियो। त्यस वर्ष चिसापानीमा पहिलो पुल निर्माण भएपछि सुदूरपश्चिम क्षेत्र राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएको थियो।
पछि हुलाकी राजमार्गअन्तर्गत सत्तीघाटमा दोस्रो पक्की पुल निर्माण भयो। त्यसपछि टीकापुर नगरपालिका र गेरुवा गाउँपालिका लाई जोड्ने सन्कट्टीघाटमा तेस्रो पुल निर्माण गरिएको हो।
७५२ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सन्कट्टी पुल निर्माणका लागि एक अर्ब चार करोड रुपैयाँ खर्च भएको थियो भने पहुँच मार्ग तथा नदी नियन्त्रणका कार्यका लागि थप १४ करोड रुपैयाँ लगानी गरिएको छ। निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन का इन्जिनियर धीरेन्द्र सहनीका अनुसार पुल निर्माणको मुख्य काम सम्पन्न भइसकेको छ र सर्वसाधारणले प्रयोग गर्न थालेका छन्। केही सडक तथा सहायक संरचनाको काम भने अझै बाँकी रहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित