सार्थक ब्यूरो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाको निर्णयअनुसार सरुवा भई आएका भट्टराईले बिहीबार पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण समारोहमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रतिनिधि तथा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न प्रहरी कार्यालयका प्रमुखसहित प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले नवआगन्तुक प्रदेश प्रहरी प्रमुखलाई स्वागत गरेका थिए।
जिम्मेवारी सम्हालेपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले प्रदेशको वर्तमान शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रणका प्रयास तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले अपराध अनुसन्धान र नियन्त्रणलाई थप प्रभावकारी बनाउने, सेवाग्राही तथा पीडितमैत्री प्रहरी सेवा सुनिश्चित गर्ने, सुशासनलाई सुदृढ गर्ने तथा मानवअधिकार संरक्षणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
त्यसैगरी उनले प्रहरी संगठनभित्र अनुशासन, आचरण र व्यवहारमा सुधार ल्याउन, आर्थिक पारदर्शिता कायम गर्न तथा लागूऔषध कारोबार, तस्करी, जुवातासलगायत गैरकानुनी गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने उनको भनाइ थियो।
प्रदेश प्रहरी प्रमुख भट्टराईले कानुनको प्रभावकारी कार्यान्वयन, नागरिक सुरक्षाको प्रत्याभूति तथा प्रदेशभर शान्ति सुव्यवस्था कायम राख्न योजनाबद्ध र परिणाममुखी ढंगले प्रहरी परिचालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।


















Discussion about this post