देउवा र शेखर पक्षले चुनदेवीमा महाधिवेशन सम्पर्क कार्यालय स्थापना गर्ने

सार्थक ब्यूरो । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन्। आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै महाराजगञ्जस्थित चुनदेवी क्षेत्रमा कार्यालय स्थापना गर्न लागिएको हो।
कांग्रेसका पूर्व प्रचार विभाग प्रमुख तथा देउवा निकट नेता मीन विश्वकर्माका अनुसार एक–दुई दिनभित्र ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ सञ्चालनमा आउनेछ। उनका अनुसार उक्त कार्यालय नियमित महाधिवेशनको पक्षमा रहेका नेता तथा कार्यकर्ताहरूबीच छलफल, भेटघाट र समन्वयको केन्द्र बन्नेछ।
नेपाली कांग्रेसमा गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनपछि आन्तरिक विवाद चर्किएको छ। तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिको बीचमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न उक्त महाधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको थियो।
विशेष महाधिवेशनलाई १४औँ महाधिवेशनमा सक्रिय रहेका देउवा, शेखर कोइराला र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेका थिए। अहिले तिनै पक्षहरूबीच सहकार्य गर्दै संयुक्त सम्पर्क कार्यालय स्थापना गर्न लागिएको बताइएको छ।
पूर्व केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि नियमित महाधिवेशनको पक्षमा उभिएका नेताहरूका लागि छलफल र बैठक सञ्चालन गर्न कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए। उनका अनुसार कार्यालयको स्थान तय भइसकेको छ र छिट्टै औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
उता, संस्थापन पक्षले १५औँ महाधिवेशनको तयारीस्वरूप नवीकरण गरिएका क्रियाशील सदस्यताको पुनः अद्यावधिक गर्ने निर्णय गरेको छ। तर, देउवा–शेखर पक्षले उक्त निर्णयप्रति असहमति जनाउँदै सदस्यता अद्यावधिक नगरेको बताइएको छ। यही विषयलाई लिएर विवाद तीव्र बन्दै गएका बेला संयुक्त सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित