सार्थक ब्यूरो ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा नेपाली कम्युनिस्ट राजनीतिका शीर्ष नेताहरू एकै मञ्चमा देखिएका छन्। कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहभागी थिए।
लामो समयदेखि फरक राजनीतिक धारमा रहेका शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुनु र आपसी संवादमा देखिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। गोष्ठीका क्रममा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भएको आत्मीय संवादले विशेष ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा मदन भण्डारीको राजनीतिक योगदान, उनले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा तथा नेपालको कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भावी दिशाबारे विभिन्न नेताहरूले धारणा व्यक्त गरेका थिए।
यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिको खण्डन नभएको बताएका छन्। उनले चितवनमा आयोजित रास्वपाको महाधिवेशनमा लिपुलेक र कालापानी नेपालको भएको अभिव्यक्ति दिँदैमा संसदमा व्यक्त गरिएको भनाइको खण्डन नहुने जिकिर गरे।
“हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट, कति निराधार र देशविरोधी कुरा। लिपुलेक र कालापानी नेपालको हो भन्नेमा विवाद भएको होइन, नेपालले थुप्रै ठाउँमा सीमा मिचेको छ भन्ने अभिव्यक्तिमा विवाद भएको हो, जुन कुरा अहिलेसम्म खण्डन गरिएको छैन,” ओलीले बताए।
यता, वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूबीच समयमै एकता भएको भए पछिल्लो निर्वाचनमा ठूलो हार व्यहोर्नु नपर्ने बताएका छन्। उनले एमाले र नेकपाबीच चुनावअघि नै कार्यगत एकता भएको भए वामपन्थीहरूले करिब १०० सिट जित्ने दाबी गरे।
“यदि एमाले र नेकपाले निर्वाचनअघि नै कार्यगत एकता गरेका भए करिब १०० सिट वामपन्थीको हुन्थ्यो। आज यो अवस्था आउने थिएन, देशको परिस्थिति पनि फरक हुन्थ्यो,” उनले भने।
खनालले वर्तमान शासनशैलीप्रति आलोचना गर्दै वामपन्थी शक्तिहरू कमजोर हुँदा तानाशाही प्रवृत्ति मौलाएको दाबी गरे। उनले वाम एकता आजको मात्र नभई लामो समयदेखि अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै विगतमा नेताहरूबीचको अहंकार र विभाजनकारी प्रवृत्तिका कारण एकता हुन नसकेको स्वीकार गरे।
उनले आत्मसमीक्षा, आपसी सहकार्य र दीर्घकालीन राजनीतिक एकतामार्फत वाम आन्दोलनलाई पुनः सुदृढ बनाउनुपर्नेमा जोड दिए।
तर, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कम्युनिस्ट एकता सम्भव नरहेको बताएका छन्। उनले भावनात्मक नारा र चर्चाले मात्र एकता सम्भव नहुने स्पष्ट पार्दै कम्युनिस्ट आन्दोलनभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको धारणा राखे।
“मै हुँ भन्ने प्रवृत्ति, भ्रष्टाचारीकरण र जनताबाट टाढिने प्रवृत्तिले हामीले समाज र बदलिँदो मनोविज्ञान बुझ्न सकेनौं। हामीभित्रका विकृतिहरूको आत्मसमीक्षा सबै कम्युनिस्ट घटकले गर्नुपर्छ,” उनले भने।
नेपालले गहिरो आत्ममन्थनपछि मात्र सही निष्कर्षमा पुगेर कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध दिशामा अघि बढाउन सकिने बताए। उनका अनुसार तत्काल एकता सम्भव नदेखिए पनि व्यापक छलफल, बहस र समझदारीमार्फत सहकार्यका क्षेत्र पहिचान गर्दै अघि बढ्न सकिने अवस्था रहेको छ।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा शीर्ष कम्युनिस्ट नेताहरूको साझा उपस्थितिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। एकातर्फ वाम एकताको आवश्यकता र सम्भावनाबारे आवाज उठाइयो भने अर्कोतर्फ तत्काल एकताका लागि आत्मसमीक्षा र वैचारिक स्पष्टता अपरिहार्य रहेको धारणा पनि सार्वजनिक भएको छ।


















Discussion about this post