सार्थक ब्यूरो । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहका समिति, आयोग तथा उपसमितिका पदाधिकारी र सदस्य राजनीतिक दल वा तिनका भ्रातृ सङ्गठनका निकायमा पदमा बहाल रहेको अवस्थामा रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन आग्रह गरेको छ।
नेरेसोले स्वयंसेवक तथा कर्मचारीले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यताअनुसार कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (अठारौँ संशोधन, २०८२ सहित) को दफा ७२ को उपदफा (३) स्मरण गराएको हो।
उक्त व्यवस्थाअनुसार सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक दल वा तिनका भ्रातृ सङ्गठनका विभिन्न निकायमा रहेका तथा राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा पदाधिकारी वा सदस्य रहेका व्यक्ति नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग वा उपसमितिमा पदाधिकारी वा सदस्य रहन पाउने छैनन्।
सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था उल्लङ्घन गर्दै दोहोरो भूमिकामा रहेको पाइएमा प्रचलित विधानबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।
अनुरोधमा भनिएको छ, “नेपाल रेडक्रसका कुनै पनि तहका समितिका पदाधिकारी वा सदस्य कुनै राजनीतिक दल (भ्रातृ सङ्गठनसमेत) का विभिन्न निकायमा रहेको जानकारी भएमा तथ्यसहित इमेल secretariat@nrcs.org मा जानकारी गराइदिन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।”
विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा रहेको नेरेसोले रेडक्रसका सात सिद्धान्त, मूल्य र मान्यताका आधारमा तटस्थ र निष्पक्ष ढङ्गले काम गर्दै आएको जनाएको छ। यद्यपि, नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्या जटिल बन्दै गएको भन्दै बेला–बेलामा सरोकारवालाबाट आलोचना हुँदै आएको छ।
अनुरोधमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका वैधानिक निकायबाट प्रतिबन्धसमेत लाग्न सक्ने अवस्था सिर्जना हुन सक्ने चेतावनीसमेत दिइएको छ।


















Discussion about this post