गणेश नेपाली मृत्यु प्रकरण र सुकुमबासी आन्दोलनले फेरि तातियो माइतीघर

सार्थक ब्यूरो । गणेश नेपालीको मृत्यु प्रकरण र सुकुमबासी व्यवस्थापनको विषयलाई लिएर काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन तीव्र हुन थालेको छ। पछिल्ला केही दिनयता विभिन्न समूहले सरकारसँग न्याय, क्षतिपूर्ति तथा उचित व्यवस्थापनको माग गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन्।
त्रिपुरेश्वरमा मोटरसाइकलमा ह्वील लक लगाइएको विषयमा भएको विवादपछि असार २५ गते मुगुको सोरु गाउँपालिका–६ निवासी गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएपछि घटनाले व्यापक चर्चा पाएको छ। त्यसयता उनका परिवार, आफन्त र मुगुबाट आएका सर्वसाधारणले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका छन्।
गणेश नेपालीको परिवारसँग सरकारी पक्षले पटक–पटक छलफल गरे पनि अहिलेसम्म सहमति हुन सकेको छैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको संयोजनमा वार्ता जारी रहेको जनाइएको छ।
शनिबार जनपक्षीय ट्रेड युनियनका अध्यक्ष कुमार घतानीको नेतृत्वमा ३० भन्दा बढी व्यक्तिले माइतीघरमा प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रदर्शन दिउँसो सुरु भएर साँझसम्म जारी रहेको थियो।
यसैबीच, नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाहीले संसदमा गणेश नेपालीको मृत्युबारे प्रश्न उठाउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
उता, सुकुमबासी व्यवस्थापनको विषयलाई लिएर पनि आन्दोलन चर्किन थालेको छ। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको नेतृत्वमा आइतबार माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले कीर्तिपुरस्थित होल्डिङ सेन्टरको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उचित बसोबास र मानवीय व्यवहारको माग गरेका छन्। प्रहरीका अनुसार प्रदर्शनमा करिब ६० जना सहभागी थिए।
यसअघि शुक्रबार राति परेको वर्षापछि बागमती नदीमा आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर प्रभावित बनेपछि त्यहाँ बसाइँसराइ गराइएका सुकुमबासीहरू समस्यामा परेका थिए। त्यसको विरोधमा शनिबार केही युवाहरू होल्डिङ सेन्टर पुगेका थिए। सो क्रममा प्रहरीसँग धक्कामुक्की हुँदा केही व्यक्तिलाई नियन्त्रणमा लिएर साँझ रिहा गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालाई नियन्त्रणमा लिइएको थियो। पक्राउका क्रममा घाइते भएका अन्सारीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
पछिल्ला घटनाक्रमसँगै केही समय शान्त रहेको माइतीघर मण्डला पुनः विभिन्न माग र आन्दोलनको केन्द्र बन्दै गएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित