सार्थक ब्यूरो । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले बुधबार सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उनीहरूले बिहान करिब ९ बजे मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आफ्नो राजीनामापत्र बुझाएका हुन्।
राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।
स्रोतका अनुसार मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी गरेपछि कांग्रेसका मन्त्रीहरू असन्तुष्ट बनेका थिए। मन्त्रालयको विद्यमान संरचनामा परिवर्तन गर्नु उपयुक्त नहुने उनीहरूको धारणा रहेको बताइएको छ।
यही विषयलाई लिएर सरकारभित्र मतभेद बढेपछि कांग्रेसका मन्त्रीहरूले संयुक्त रूपमा पद त्याग्ने निर्णय गरेका हुन्। ऊर्जा तथा जलस्रोत मन्त्रीका स्वकीय सचिवका अनुसार मन्त्रालय पुनर्संरचनासम्बन्धी निर्णयमा अन्य मन्त्रीहरू केवल औपचारिक साक्षीका रूपमा बस्न नचाहेपछि सबैले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
मन्त्रीहरूको एकैपटकको राजीनामासँगै कर्णाली प्रदेश सरकारभित्रको सत्ता समीकरण र आगामी राजनीतिक अवस्थाबारे नयाँ चर्चा सुरु भएको छ।


















Discussion about this post