सार्थक ब्यूरो । तीज पर्व नजिकिँदै जाँदा कैलाली र कञ्चनपुरका रानाथारू बस्तीमा ‘सावन डोला’ खेल्ने परम्पराले चहलपहल बढाएको छ। गाउँका सार्वजनिक स्थल तथा भलमन्सा घरमा डोला निर्माण गरी महिला, युवा र बालबालिका सामूहिक रूपमा रमाउन थालेपछि बस्तीहरूमा पर्वको रौनक देखिन थालेको हो।
यही क्रममा राना थारू समाज, सेहरीको आयोजनामा गोदावरी नगरपालिका–९ स्थित सेहरी भलमन्सा घरमा राना थारू तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। रानाथारू समुदायको संस्कृति र सामुदायिक एकताको केन्द्रका रूपमा रहेको भलमन्सा घरलाई सजाएर कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले रानाथारू समुदायको मौलिक संस्कृति, कला, परम्परा र पहिचान संरक्षणका लागि यस्ता सांस्कृतिक गतिविधि महत्वपूर्ण हुने बताए।
उनले नयाँ पुस्तामार्फत मौलिक परम्पराको हस्तान्तरण गर्न सके संस्कृति दीर्घकालसम्म जोगाउन सकिने उल्लेख गरे। समुदायबीचको आपसी सद्भाव, एकता र भाइचारालाई थप बलियो बनाउन सामूहिक सहभागिता आवश्यक रहेको उनको भनाइ थियो। नगर प्रमुख भट्टले तीज विशेष कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै रानाथारू समुदायलाई पर्वको शुभकामना समेत दिए।
रानाथारू समुदायमा तीज आउनुभन्दा करिब दुई साताअघि नै ‘सावन डोला’ तयार गर्ने चलन छ। डोला तयार भएपछि महिला, युवा तथा बालबालिका सामूहिक रूपमा खेल्ने गर्छन्। विशेषगरी साँझको समयमा महिलाहरू परम्परागत पहिरनमा सजिएर गीत गाउँदै डोलामा रमाउने गरेका छन्।
भलमन्सा घर वा गाउँका सार्वजनिक स्थानमा काठका बलिया खम्बा, काठको फल्याक र डोरीको प्रयोग गरेर डोला बनाउने गरिन्छ। पछिल्लो समय डोलालाई विभिन्न रङका कपडा, ध्वजा तथा अन्य सामग्रीले सजाउने चलनसमेत बढेको छ।
रानाथारू समुदायमा पुस्तौंदेखि प्रचलित ‘सावन डोला’ मनोरञ्जनको साधन मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो। सामूहिक रूपमा डोला खेल्ने र गीत गाउने प्रचलनले समुदायका सदस्यलाई एक ठाउँमा ल्याउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउँदै आएको छ।








Discussion about this post