सार्थक ब्यूरो । कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीबाट कैलालीको गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकायासहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ पर्नेमा रोकायासहित बेलडाँडी गाउँपालिका–३ का १८ वर्षीय विपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेपछि सोधपुछ तथा जाँच गरिएको थियो। त्यस क्रममा उनीहरूको मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला परेको थियो।
थप अनुसन्धानका क्रममा प्रहरीले विपिन सिंह बस्दै आएको भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकको डेरा कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा कोठामा लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि बरामद हतियारसम्बन्धी विषयमा कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।








Discussion about this post