सार्थक ब्युरो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुभएको हो।
नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिनुभएको थियो। राजीनामापछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।
केन्द्रमा भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिममा नेकपा र नेकपा एमालेको संयुक्त सरकार गठन हुने भएको छ। सोही सहमतिअनुसार प्रदेशको मुख्यमन्त्री पद नेकपाको भागमा परेको हो।
यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो।
प्रदेश प्रमुखको कार्यालयका अनुसार भट्टलाई शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ। उहाँको शपथग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको जनाइएको छ।








Discussion about this post