महेन्द्रनगर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले कञ्चनपुरमा किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको छ। धान बिक्रीका लागि बिहीबार र शुक्रबार ठूलो सङ्ख्यामा किसान कम्पनीको कार्यालय पुगेपछि खरिद केन्द्रमा भीड लागेको छ।
किसानले धान भित्र्याएको करिब डेढ महिनापछि मात्रै सरकारी निकायले खरिद प्रक्रिया अघि बढाउँदा धेरै किसानले सरकारी समर्थन मूल्यको लाभ लिन नपाएको गुनासो गरेका छन्। समयमै सरकारी खरिद सुरु नभएपछि कतिपय किसानले बाध्य भएर आफ्नो उत्पादन स्थानीय व्यापारी तथा गल्ला व्यवसायीलाई कम मूल्यमा बिक्री गर्नुपरेको बताएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका प्रमुख प्रकाश न्यौपानेले केन्द्रीय कार्यालयबाट धान खरिदको कोटा निर्धारणसम्बन्धी निर्देशनपत्र आउन ढिलाइ भएकाले खरिद प्रक्रिया प्रभावित भएको जानकारी दिए।
उनका अनुसार चालु वर्ष कञ्चनपुर जिल्लाबाट आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ। एक जना किसानबाट अधिकतम ३० क्विन्टलसम्म धान खरिद गरिने व्यवस्था गरिएको छ। गत वर्ष कम्पनीले जिल्लाबाट सात हजार क्विन्टल धान खरिद गरेको थियो।
तर, कम्पनीले निर्धारण गरेको सीमित खरिद कोटाका कारण सबै किसानले धान बिक्री गर्ने अवसर पाएका छैनन्। टोकन प्राप्त गर्न नसकेपछि कतिपय किसान निराश हुँदै रित्तै घर फर्किन बाध्य भएका छन्।
भीमदत्त नगरपालिका निवासी किसान रामदत्त भट्टले बिहानैदेखि लामो समयसम्म लाइनमा बसे पनि टोकन नपाएपछि धान बिक्री नगरी घर फर्किनुपरेको दुःखेसो पोखे। सरकारले किसानको उत्पादन खरिद गर्ने परिमाण बढाउनुपर्ने उनको माग छ।
किसानले उत्पादन गरेको धान सरकारले समयमै र पर्याप्त मात्रामा खरिद गर्न नसक्दा सरकारी समर्थन मूल्य कागजमा सीमित भएको किसानहरूको गुनासो छ। उत्पादन लागत, मल, बीउ, सिँचाइ तथा श्रमको खर्च बढिरहेको अवस्थामा उचित मूल्यमा धान बिक्री गर्न नपाउँदा किसान आर्थिक मारमा पर्ने गरेका छन्।
कृषिप्रधान मुलुकमा किसानको उत्पादनलाई उचित मूल्य र बजारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। त्यसैले सरकारले धान खरिदको कोटा र बजेट वृद्धि गर्नुका साथै बाली भित्र्याउने समयसँगै खरिद प्रक्रिया सञ्चालन गर्ने व्यवस्था मिलाउन आवश्यक देखिन्छ। अन्यथा, सरकारी समर्थन मूल्यको घोषणा भए पनि वास्तविक लाभ बिचौलिया र व्यापारीले पाउने, किसान भने सधैँ मर्कामा पर्ने अवस्था अन्त्य हुन कठिन हुनेछ।








Discussion about this post