नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत सरकारले राजकीय सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।
भ्रमणको दोस्रो दिन आज भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाले प्रधानमन्त्री शाहलाई उक्त सम्मान प्रदान गरेको हो।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई आत्मीयतापूर्वक अङ्गालो हालेर स्वागत गर्नुभएको थियो। सम्मान ग्रहणपछि दुवै देशका प्रधानमन्त्री सँगै समारोहस्थलबाट बाहिरिनुभएको थियो।

प्रधानमन्त्री शाहलाई प्रदान गरिएको गार्ड अफ अनरले नेपाल र भारतबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध तथा पारस्परिक सम्मानलाई थप उजागर गरेको छ।
राजकीय सम्मान ग्रहणपछि दुवै देशका प्रधानमन्त्रीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय शिखर वार्ता हुने कार्यक्रम रहेको छ। उक्त वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित, सहकार्य तथा द्विपक्षीय चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।








Discussion about this post