सार्थक ब्यूरो ।बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। लु प्र ०१–००१ च १७७५ नम्बरको जिप बुर्तिबाङ बजारबाट चौरतर्फ जाँदै गर्दा साँझ ५.४५ बजेको समयमा करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमै ढोरपाटन–२ की ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको हो। सोही दुर्घटनामा गम्भीर घाइते भएकी २१ वर्षीया टीकाकुमारी कुँवरको पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने ७५ वर्षीया मनकुमारी थापा शनिबार बिहान पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए।
जिपमा १६ जना सवार थिए। घाइतेमध्ये १२ जनाको पोखराको मणिपाल अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमा चालक गोविन्द थापा, लुम्बिनी महत, इन्द्रा कुँवर, निरमाया खत्री, देवी परियार, दुर्गी दर्जी, अञ्जु परियार, वियानो बुढा मगर, विनय बुढा, डल्ली विक, शिशिर कार्की र टनमाया कुँवर रहेका छन्।
प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट तल खस्दा ठूलो क्षति भएको हो। यतिखेर घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















Discussion about this post