दार्चुलाका तिन उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त कृषक पुरस्कार’

सार्थक ब्यूरो ।दार्चुलाका तिन जना मेहनती र उदाहरणीय कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरी सम्मान गरिएको छ। लामो समयदेखि कृषि पेशामा निरन्तर लाग्दै, गाउँमै बसेर व्यावसायिक खेती गरेका कृषकहरूलाई कृषि ज्ञान केन्द्र दार्चुलाले सोमबार एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा शैल्यशिखर नगरपालिका–३ का माहुरी पालक कृषक प्रजापती भट्ट, महाकाली नगरपालिका–१ का बङ्गुर (कुखुरा) पालक कृषक अमरसिंह महरा, र मालिकार्जुन गाउँपालिका–८ का तरकारी कृषक अनिल लोहार रहनुभएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख सिद्धराज उपाध्यायका अनुसार उत्कृष्ट कृषकलाई जनही नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।

तरकारी उत्पादनमा उत्कृष्ट मानिएका अनिल लोहारले ५ रोपनी क्षेत्रफलमा पोली हाउससहित सिजन र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ। उहाँको तरकारी विद्यालयको दिवा खाजा कार्यक्रममार्फत गाउँभरिका विद्यालयमा पुग्ने गरेको छ। उहाँले भन्नुभयो, “बारीबाटै बजार मूल्यमा तरकारी बिक्री हुन्छ, पुरस्कारले अब झनै उत्साह बढेको छ।”

त्यसैगरी, माहुरी पालन गर्दै आइरहनुभएका प्रजापती भट्टले सल्लेरीकोटमा सेरेना जातका ५०० घार माहुरी पालेका छन्। उहाँले वार्षिक १,५०० किलोग्राम मह उत्पादन गर्ने र झन्डै ११ लाख रुपैयाँ आम्दानी गर्ने जानकारी दिनुभयो। उहाँलाई कृषि ज्ञान केन्द्रले तालिम र सामाग्री सहयोग गर्दै आएको छ।

तेस्रो पक्षमा रहेका बङ्गुर पालक अमरसिंह महराले पनि स्थानीय स्रोत उपयोग गरी कुखुरा र बङ्गुर पालन गर्दै ग्रामिण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आउनुभएको छ।

कृषि ज्ञान केन्द्र दार्चुलाले चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत पहिलो पटक यो पुरस्कार वितरण कार्यक्रम संचालन गरेको हो। कार्यक्रममा सहभागी सबैले ग्रामीण कृषि उत्पादनमा टिकाउ सुधार ल्याउन यस्तो सम्मानले कृषकमा झनै उत्साह थप्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित