सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसको शिक्षाशास्त्र विभाग अन्तर्गत स्थापना गरिएको अनुसन्धान व्यवस्थापन इकाई कार्यालयको उद्घाटन गर्नुभएको छ । उहाँले गुरु पूर्णिमाको अवसर पारी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा स्थापना गरिएको उक्त इकाइको बिहीबार उद्घाटन गर्नुभएको हो ।
शिक्षा संकायको आइसीटी सहितको अनुसन्धान कक्षको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री रावलले इकाइको स्थापना पछि यसले परम्परागत शिक्षण पद्धतिलाई नवपवर्तनकारी शैक्षिक प्रणालीसँग जोड्न पुलको काम गर्ने बताउनु भयो । ‘निःसन्देह, यो स्थानीय अपेक्षाहरुलाई भूमण्डलीकृत, दूरदृष्टिहरुसँग जोड्ने यत्न हो,” उहाँले भन्नुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयको स्थापनाकाल देखिनै जोडिएको र यसको निर्माण र विकासको आफू एउटा सारथी भएको उहाँले बताउनु भयो । ‘यहाँको शैक्षिक उत्पादन विश्व बजारमा प्रतिस्पर्धी, क्षमतायुक्त र नवपवर्तनकारी बन्न सकोस् भन्ने ध्येयका साथ यस प्रदेशकै थिंक ट्यांक जन्माउने यस विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन र अनुसन्धानमुलक र योग्यतम जनशक्ति निर्माण हेतु रिर्सच सेललाई आइसीटी संसाधनले युक्त बनाउन मैले चालु आवमा बजेटका लागि पहल गरेको थिए,” उहाँको भनाई थियो यसले प्राविधिक उन्नयनमा मात्र जोड् नदिई भविष्य उन्मुख शैक्षिक ज्ञानको जग बसाल्ने कार्य गर्ने विश्वास पूर्व मुख्यमन्त्री रावलले लिनु भयो ।
सूचना तथा संचार प्रविधिको संयोजन बिनाको शिक्षा आजको युगमा अपूर्ण हुनसक्ने उहाँले बताउनु भयो । ‘सूचना प्रविधिको अर्थ कम्प्युटर र इन्टरनेटको प्रयोग मात्र नभई यसको उपयोग अध्ययन, अध्यापन र अनुसन्धान प्रकियामा सहयोग पुर्याउने आवश्यक टुलको रुपमा गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।
प्रदेश सरकारले उच्च शिक्षालाई सहयोग गर्ने नीति अन्तरगत गत आ।व।मा व्यबस्थापन संकायसँग पनि यस्तै सहकार्य गरी आइसीटी ल्याब स्थापना गरिएको थियो ।
उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री रावलले आगामी वर्ष पनि विश्वविद्यालय स्तरकै रिसर्च सेन्टरका लागि प्रदेश सरकारले बजेटको ब्यवस्था गरेको जानकारी दिनु भएको छ । यसले आगामी दिनहरुमा नीति तथा तथ्य अनुसन्धानको अन्तरसम्बद्धतालाई सुदृढ गर्न थप मद्धत गर्ने उहाँको भनाई छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता शिक्षाशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख अर्जुन सिंह नेगीले गर्नुभएको थियो । प्रमुख नेगीले सुदूरपश्चिम प्रदेश सरकारको १० लाख रुपैयाको सहयोगमा अनुसन्धान इकाई स्थापना गरिएको जानकारी दिनुभयो । उक्त रकमबाट स्मार्ट बोर्ड, ल्यापटप, ब्रान्डेट कम्प्युटर, क्यामेरा स्टेण्ड, कूर्सी, टेबल लगायत सामाग्री खरिद गरिएको उहाँले बताउनु भयो ।
यस्तै आइसीटी ल्याब स्थापनाका लागि बजेट बिनियोजनमा महत्वपूर्ण सहयोग गरेको भन्दै शिक्षाशास्त्र केन्द्रीय विभागले पूर्व मूख्यमन्त्री रावललाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै प्रशंसापत्र प्रदान गरेको छ । विभागीय प्रमुख नेगी, केन्द्रीय क्याम्पसका सहप्राध्यापक उद्धबदेव भट्टले दोसल्ला ओडाएर मुख्यमन्त्री रावललाई सम्मान गर्नुभएको थियो ।


















Discussion about this post