सार्थक ब्यूरो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत सरकारको प्राथमिकता, उपलब्धि र भावी कार्यदिशाबारे धारणा सार्वजनिक गर्नुभएको छ।
उहाँले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुकमार्फत आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिन थालेको उल्लेख गर्नुभएको छ। साथै, राष्ट्रिय गौरवका आयोजनाहरूको कामले गति लिएको तथा समयसीमा तोकेर काम गर्ने र नतिजामुखी अभ्यास सुरु भएको धारणा पनि उहाँले व्यक्त गर्नुभएको छ। ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ, यस बिचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ, टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ’,ओलीले लेख्नु भएको छ ।
यस बिचमा नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा धेरै काम भएका उहाँले उल्लेख गर्नु भएको छ । ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन, अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ’, उहाँले लेख्नु भएको छ ।
प्रधानमन्त्री ओलीले अझै गर्न बाँकी धेरै काम रहेका बताउँदै सरकारको ध्यान गर्न बाँकी काममा केन्द्रित रहेको उल्लेख गर्नु भएको छ । ‘गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ’, ओलीले लेख्नु भएको छ ।सन्देशको अन्त्यमा उहाँले सबैलाई नमन गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ।


















Discussion about this post