सार्थक ब्यूरो ।सुदूरपश्चिमको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा साउन २ गते रातको करिब १ बजे मन्सरादेवी साउदको घरमा ठूलो त्रासदी भयो।
मन्सरा साउद आफ्ना छोरा संगै भित्रको कोठामा सुतेकी थिइन्। अचानक भित्तो हल्लिन थाल्यो। सुरुमा उनले भूकम्प आयो कि भन्ने सोचिन्। तर बाहिर निस्केर हेर्दा अँध्यारोमा एक विशाल छायाँ देखिन्— त्यो थियो जंगली हात्ती।
“एक सेकेन्ड पनि सोच्ने समय थिएन,” मन्सरा सम्झिन्छिन्, “छोरालाई समाएर छिमेकीको घरतिर भागेँ। हामी सुतेकै ठाउँमा हात्तीले पर्खाल तोडेको रहेछ। भगवान्ले ज्यान बचाउनुभयो।”
हात्तीको बथानले मन्सराको घरको भित्ता भत्कायो र भित्र राखिएको सबै अन्नपात खायो। बचेको अन्नपात खुट्टाले कुल्चिएर नष्ट गरिदियो। “त्यो रात मेरो जीवनको कहिल्यै नबिर्सिने रात भयो,” मन्सरा भन्छिन्।
अझ अचम्मको कुरा त के छ भने हात्तीले वरपरका अन्य घरमा केही गरेन। छिमेकी देवकी भट्ट भन्छिन्, “गएको वर्ष पनि मन्सराको खेतमा मात्रै धान खायो, अरु घरछेउका खेत जस्ताको तस्तै। यो पटक पनि मन्सराकै घर भत्कायो।”
छिमेकीहरूले अहिले मन्सराको घरको भत्किएको भित्तो माटोले लिपपोत गरेर केही जोगाएका छन्। तर डर अझै उस्तै छ।
गौरी साउद भन्छिन्, “बस्तीमा सडक बत्ती छैन, सावधानीका उपाय छैनन्। बत्ती भएको भए हात्ती टाढै देखिन्थ्यो होला। अँध्यारो हुँदा हात्ती आएको थाहा नै हुन्न, जब पर्खाल भत्काउन सुरु गर्छ, तब मात्र थाहा हुन्छ। त्यतिबेला त ज्यान बचाउन भाग्नुपर्छ।”
ऐश्वर्या सामुदायिक वनको छेउमा रहेको यो बस्ती हात्तीको नियमित मार्ग बनेको छ। वन समितिका अध्यक्ष ईश्वर बुढा भन्छन्, “हात्तीले खानेपानीको पाइप नै तानेर फुटाएपछि ४० घरपरिवार पिउने पानीविना बस्नुपरेको छ।”
अबको समाधान भनेको मेस वायर, पर्खाल वा चेतावनी प्रणाली जस्ता संरचना बनाउनुपर्छ भन्ने स्थानीयको माग छ। हाललाई त उनीहरू रातभर आगो बाल्दै हात्ती धपाउने प्रयास गरिरहेका छन्। तर यो दीर्घकालीन समाधान हुन सक्दैन।


















Discussion about this post