सार्थक ब्यूरो । ४३औं बीपी कोइराला स्मृति दिवस आजको दिन नेपालको लोकतान्त्रिक इतिहासका महान पुरुष बिषेश्वरप्रसाद कोइरालाको सम्झनामा विचार, दृष्टिकोण र निष्ठाको अविचल उदाहरण हुन् बिपी—नेतृत्व जसले केवल आन्दोलन गरेन, विचार र सपना बाँड्यो।
बिपी कोइरालाले नेपाली जनताको पक्षमा लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र समाजवादको पक्षमा जुन आवाज बुलन्द गरे, त्यो आज पनि नेपाली राजनीतिको मेरुदण्डसरह छ। उनले भनेका थिए, “राष्ट्रको समृद्धि जनताको स्वतन्त्रतामा निहित छ।” तर, बिपीको निधनपछि चार दशक नाघ्दा पनि देशले उनको सपना जस्तै समावेशी, न्याययुक्त र समृद्ध समाजको अनुभूति पाउन सकेको छैन।
आज नेपाली राजनीतिमा आत्मावलोकनको खाँचो महसुस भइरहेका बेला बिपीको सम्झना केवल श्रद्धाञ्जलि होइन, सच्चा मार्गदर्शन बन्न सक्छ। स्वाभिमानी, विचारशील र आदर्शवादी नेताको नाममा राजनीति गर्नेहरूले बिपीको जीवनदर्शन र त्यागप्रतिको प्रतिबद्धता स्मरण गर्नु आजको आवश्यकता हो।
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीका रूपमा केवल १८ महिना सत्तामा बसेर पनि उनले जनताको मनमा जुन गहिरो छाप छाडे, त्यसलाई वर्तमान नेतृत्वले आत्मसात् गर्न सकेको देखिन्न। बिपीले चालेका पाइलाहरू राजनीतिक चेतनाका किताबहरूमा मात्र होइन, नेपाली जनताको मुटुमा अंकित छन्।यस सन्दर्भमा देशभर आज बिपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम, विचार गोष्ठी र श्रद्धाञ्जलिहरू भइरहेका छन्।
उहाँको सम्झनामा एउटा प्रश्न फेरि उभिएको छ — “के हामी बिपीको सपना पुरा गर्ने दिशातिर अगाडि बढिरहेका छौँ ?”
यस अवसरमा बिपीप्रति हाम्रो श्रद्धा केवल फूल चढाएर होइन, व्यवहारमा उनका विचार उतारेर नै साँचो श्रद्धाञ्जलि हुनेछ।


















Discussion about this post