निर्मला पन्त हत्या प्रकरण: सात वर्षसम्म पनि अनुसन्धान शून्य, प्रहरी निरीह

सार्थक ब्यूरो । २०७५ साउन १० गते साथीको घर गएकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट साउन ११ गते भीमदत्त नगरपालिका–२, उल्टाखामस्थित उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि हत्या गरिएको पुष्टि भए पनि आजसम्म अपराधी पत्ता लाग्न सकेका छैनन्। घटनाको सात वर्ष पुगे पनि प्रहरी अनुसन्धान अझै दिशाविहीन देखिन्छ।पोस्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको स्पष्ट पारेको थियो। तर, घटनाबारे प्रारम्भदेखि प्रहरीको अनुसन्धान प्रभावकारी हुन सकेन।कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ६५५ जनासँग विस्तृत रूपमा सोधपुछ गरिएको र १२४ जनाको डीएनए परीक्षण गरिएको थियो। तर, कुनै पनि व्यक्तिको डीएनए मेल नखाँदा अनुसन्धान झनै जटिल बन्दै गएको छ।हाल जिल्ला प्रहरीका डीएसपी सागर बोहरा भन्छन्, “घटनामा छुट्टै टोली परिचालित नभए पनि अनुसन्धान सूक्ष्म ढंगले जारी छ। कुनै नयाँ जानकारी आएमा तत्काल टोली खटाइन्छ।”प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख डीआईजी डम्मरबहादुर विकका अनुसार पनि हाल प्रदेश वा जिल्ला तहबाट छुट्टै टोली परिचालन गरिएको छैन। अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले लिएको छ।२०७५ को घटनापछि प्रहरीको भूमिका निराशाजनक देखिएको थियो। घटनालगत्तै स्थानीय दिलीपसिंह विष्टलाई दोषी देखाउँदै पक्राउ गरियो। तर, DNA म्याच नहुँदा उनी छुटे। झुटो अभियुक्त देखाएर वास्तविक दोषीलाई जोगाउने प्रयास भएको आरोप प्रहरीमाथि लाग्यो।त्यसबेला आन्दोलन चर्किँदा प्रहरीले गोली चलाउँदा एक युवकको ज्यान गएको थियो। गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो, जसले प्रहरीद्वारा प्रमाण नष्ट गरिएको उल्लेख गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो।

त्यसपछि थप अनुसन्धानका लागि एआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्काे समिति बनेको थियो। उक्त समितिको सिफारिसमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित केही प्रहरी अधिकारीलाई कारबाही गरियो। तर, पछि अदालतबाट सफाइ पाएपछि उनीहरू पुनः सेवामा फर्किए। हाल तीमध्ये धेरैजसो सेवानिवृत्त भइसकेका छन्।CIB प्रमुख एआईजी चन्द्रकुवेर खापुङका अनुसार, “निर्मला प्रकरणमा अहिलेसम्म प्रगति शून्यजस्तै छ। तर, हामी गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं। अपराधी पक्राउ नगरेसम्म सबै प्रयास अधुरै देखिन्छ।”

सात वर्षसम्म निर्मला पन्तको न्यायका लागि प्रारम्भिक अनुसन्धानकै तहमा अल्झिएको अवस्था आफैँमा गम्भीर प्रश्न हो— के साँच्चै प्रहरी यस घटनामा न्याय दिलाउनेतर्फ प्रतिबद्ध छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित