सार्थक ब्युरो।मकैबाली र तरकारी बालीनालीमा जङ्गली जनावरको सतत आक्रमणका कारण जिल्लाका किसानको बास अब घरभन्दा बढी खेतबारीमै हुन थालेको छ। बँदेल, दुम्सी, बाँदर र भालुजस्ता वन्यजन्तुले बाली नष्ट गर्दै लगेपछि किसान दिनरात खेतमा टहरा बनाएर पहरा दिन बाध्य भएका छन्।
जिल्लाका सबै १० वटै स्थानीय तहमा विशेष गरी जङ्गली बँदेलको आतङ्क व्यापक छ। दोगडाकेदार गाउँपालिकाका किसान चन्द्रसिंह विष्ट भन्नुहुन्छ, “रातभर जाग्राम बस्दा पनि मकैबाली जोगाउन मुस्किल भएको छ, बारीमै टहरा बनाएर बस्दा पनि बँदेलले घोगा लाग्न थालेका मकै उखेल्दैछ।”
त्यस्तै, पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐर पनि चिन्तित हुनुहुन्छ, “भर्खरै फलेका मकैबाली बँदेलले नष्ट गर्न थालेपछि अब हामीलाई भोकमरीको डर छ।” मकै उत्पादनको लागि चिनिने बैतडीमा अहिले दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ। तर मकै जोन कार्यक्रमको सहयोगमा पनि किसानको पीडा उस्तै छ।
मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टका अनुसार, किसानले मकैबाली जोगाउन हरेक वर्ष निकै संघर्ष गर्नुपर्छ। “हामीले कृषकलाई बाली सुरक्षाका केही उपाय सिकाउने प्रयास गरेका छौँ, तर जङ्गली जनावरको क्षति नियन्त्रणमा ल्याउन सकिएको छैन,” उहाँले बताउनुभयो।
पञ्चेश्वर–४ का किसान रामदत्त भट्ट भन्नुहुन्छ, “हाम्रो बारीमा मकै घोगा लाग्ने बेला बँदेल झुण्डैमा आउँछ, हामी दुई महिना रातभर अनिदो बस्न बाध्य हुन्छौं, तर पनि मकै जोगिँदैन।”
विगतमा मकैखेतीमा अब्बल मानिने बैतडीमा अहिले १२ हजार एक सय हेक्टरमा मात्र मकैखेती हुँदै आएको छ। जङ्गली जनावरको त्रासले थुप्रै किसानले खेती छाड्न थालेका छन् भने कतिपयको जमिन बर्षौँदेखि बाँझै छ। किसानको श्रम, पसिना र आशामा हरेक वर्ष जङ्गली जनावरले चोट पुर्याइरहँदा राज्य भने अझै मौनजस्तै देखिएको छ।








Discussion about this post