सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलन अन्योलमा परेको छ। तयारीका नाममा लाखौँ रुपैयाँ खर्च भइसके पनि अब सम्मेलन हुने सम्भावना न्यून देखिएको छ।यो सम्मेलनका लागि विगत तीन वर्षदेखि प्रयास हुँदै आएको थियो। सांसददेखि मन्त्रीसम्म राजधानी काठमाडौँ पुगेर सरोकारवालासँग भेटघाट गरेका थिए। त्यसका लागि भएको सम्पूर्ण खर्च प्रदेश सरकारकै कोषबाट व्यहोरेको हो। धनगढीमै पनि पटक–पटक बैठक तथा छलफल सम्पन्न गरिएका थिए। तर, जेनजी आन्दोलनका क्रममा भौतिक संरचना नष्ट भएपछि सम्मेलनको भविष्य अनिश्चित बनेको हो।
आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले अहिलेको अवस्था हेर्दा सम्मेलन हुने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, “यस्तो विध्वंसपछि विदेशी लगानीकर्ता आउँदैनन्, सम्मेलन गर्ने वातावरण छैन।”
सुदूरपश्चिम प्रदेशको आर्थिक विकास र समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको थियो। तर, लामो समयदेखि भइरहेको तयारी अब औचित्यहीन बन्ने लगभग निश्चित भएको छ।
प्रदेश सरकारले अघिल्लो जेठमा प्रिसम्मेलन आयोजना गर्दै नौवटा प्राथमिक क्षेत्र पहिचान गरेको थियो। साथै, लगानीमैत्री वातावरण बनाउन कानुनी सुधारका पहल पनि अघि बढाइएको थियो। तर, नीति तथा कानुन परिमार्जन सिफारिस उपसमितिका संयोजक डा. ताराप्रसाद जोशीका अनुसार हालको परिस्थितिमा सम्मेलन गर्ने आधार नै बाँकी छैन।अबसम्म खर्च भएको रकमको यथार्थ विवरण सार्वजनिक नगरेको प्रदेश सरकारमाथि पारदर्शिताको प्रश्न समेत उठेको छ।








Discussion about this post