पाकिस्तानमा किशोरलाई हत्या अभियोगमा एकसय वर्षको कैद

सार्थक ब्यूरो ।पाकिस्तानको लाहोरस्थित एक अदालतले १७ वर्षीय जैन अलीलाई आफ्नी आमा, एक भाइ र दुई दिदीबहिनीको हत्या गरेको अभियोगमा सय वर्षको जेल सजाय तोकेको छ। अदालतले बुधबार सुनाएको फैसला अनुसार हरेक हत्या अभियोगमा २५/२५ वर्ष गरेर चार आजीवन कारावास सजाय दिइएको हो। साथै, उनलाई ४० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ।
यो घटना सन् २०२२ मा भएको थियो, जब जैन अलीको उमेर १४ वर्ष मात्र थियो। पबजी गेममा डुबेका उनी लामो समय कोठामा खेल खेल्दै बस्ने गर्थे। गेममा असफल हुँदा रिसाउने उनको बानी थियो। आमाले निरन्तर समय बर्बाद गरेको भन्दै गाली गरेपछि आक्रोशित भई उनले आमासहित परिवारका अन्य सदस्यलाई गोली प्रहार गरी ज्यान लिएको प्रहरीको विवरणमा उल्लेख छ।
हत्या पश्चात् उनले प्रयोग गरिएको पेस्तोल नालीमा फ्याँके र पछि घटनाबारे स्वीकारोक्ति दिएका थिए। अदालतले उनको उमेरलाई मध्यनजर गर्दै मृत्युदण्ड तोक्न नपाउने ठहर गर्दै दीर्घ कारावास सजाय सुनाएको हो।
यो घटनाले पाकिस्तानभर सनसनी मच्चाएको थियो। अनुसन्धानकर्ताले अनलाइन गेमिङको लत र किशोरको मानसिक असन्तुलन यस अपराधको प्रमुख कारण भएको बताएका छन्। मनोविज्ञहरूका अनुसार यस घटनाले डिजिटल गेमिङमा अन्धाधुन्ध डुब्नाले बालबालिकाको मानसिक स्वास्थ्य र व्यवहारमा गम्भीर असर पार्न सक्ने खतरा उजागर गरेको छ। उनीहरूले परिवार र समाजलाई किशोर–किशोरीको मानसिक सन्तुलन, व्यवहार र मनोरञ्जन गतिविधिमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित