सार्थक ब्यूरो । यस वर्ष दशैंलाई लक्षित गर्दै मुस्ताङबाट साढे ३६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको भेडाच्याङ्ग्रा बजारमा पठाइएको छ। मुस्ताङका किसानले आफ्नै गोठमा पालेका साथै कर्णालीका डोल्पा, मुगु, हुम्ला लगायतका जिल्लाबाट ल्याइएका भेडा–च्याङ्ग्रासमेत बिक्रीमा गएका हुन्।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लाका कृषकहरूले मात्र ६७५ भेडा (च्यालुक) र ७ हजार २ सय १ च्याङ्ग्रा बिक्री गरेका छन्। साथै, डोल्पाबाट ५ हजार ९ सय, मुगुबाट ५ सय, जुम्लाबाट ७७५ र तिब्बत हुँदै कोरला नाकाबाट ५५० भेडा–च्याङ्ग्रा बाहिरिएको बताइएको छ।
केन्द्रका प्रमुख डा. लालमणी अर्यालका अनुसार दशैंको मुख्य व्यापार सकिएपछि अब थोरै संख्यामा मात्रै भेडा–च्याङ्ग्रा बजारतर्फ जानेछ। “कृषकले गोठबाटै सीधै बिक्री गरेर राम्रो आम्दानी लिनुभएको छ,” अर्यालले भने।
भेडा–च्याङ्ग्राको मूल्य उमेर र तौलअनुसार २८ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ। सरदर मूल्यअनुसार यस वर्ष करिब ३६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको छ। गत वर्षको तुलनामा यसपटक करिब एक करोड रुपैयाँ बढी आम्दानी भएको समेत केन्द्रले जनाएको छ।
लोमान्थाङ गाउँपालिका–१ छोसेरका कृषक आङ्ग्याल गुरुङले मात्रै करिब १ करोड ५० लाख रुपैयाँ बराबरको भेडाच्याङ्ग्रा बिक्री गरेको बताएका छन्। “मेहनत अनुसारको कमाइ पाएका छौँ, तर बजारमा व्यापारीहरूले मनपरी मूल्य निर्धारण गर्दा कृषक मारमा पर्छन्,” उनले भने।
भेडाच्याङ्ग्रा मासु खान योग्य बनाउन ३–५ वर्षसम्म पाल्नुपर्ने भएकाले यसमा चरन, खोप र गोठालोसहित ठूलो खर्च लाग्छ। चरन क्षेत्रको अभाव र व्यवस्थापन चुनौतीकै बीच कृषकले उत्पादनलाई बजारसम्म पुर्याइरहेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका अनुसार हाल मुस्ताङमा ५६ हजारभन्दा बढी च्याङ्ग्रा छन्, जसमा एक सय सूचीकृत कृषकले व्यावसायिक रूपमा पालिरहेका छन्। तिहार लक्षित गरी थप ४–५ हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ।
उच्च हिमाली भेगमा हुर्काइने भेडाच्याङ्ग्रा स्वादिष्ट मात्र नभई स्वास्थ्यका लागि पनि लाभदायी हुने उपभोक्ताहरूको अनुभव छ। जडीबुटी खाएर हुर्केका कारण यसको मासु अन्य भेगको भन्दा गुणस्तरीय मानिन्छ।


















Discussion about this post