सार्थक ब्यूरो। वडादशैँको अवसरमा आज आश्विन शुक्ल सप्तमी, अर्थात् नवरात्रको आठौँ दिन, नौ दुर्गामध्येकी सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक पूजा–आराधना हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चतुर्थी तिथि वृद्धि भएकाले सप्तमी आज (आठौँ दिन) परेको हो।
वैदिक परम्पराअनुसार कालरात्रि देवीलाई प्राणीलाई नष्ट गर्ने काललाई समेत नाश गर्ने शक्तिको प्रतीक मानिन्छ। कृष्ण वर्णकी, भयङ्कर स्वरूपकी यिनी देवीलाई कालरात्रि भनिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार यी देवीको आराधनाले साधकलाई निडरता, शक्ति र आत्मविश्वास प्रदान गर्छ।
यसअघि नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्री देवीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो र पाँचौँ दिन कुष्माण्डा, छैटौँ दिन स्कन्दमाता र सातौँ दिन कात्यायनी देवीको पूजाआराधना सम्पन्न भएको थियो। चौथी तिथि वृद्धि भएकाले यस वर्ष नवरात्र दश दिन लामो हुने उल्लेख समितिले गरेको छ।
नवरात्रका दिनहरूमा देवी पूजासँगै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ गर्ने परम्परा छ। यसरी नौ दिनसम्म निरन्तर गरिएको साधना र पूजा–आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
यसै दिन दशैँ घर वा पूजा कोठामा फूलपाती भित्र्याउने चलन पनि छ। समितिका सदस्य प्राध्यापक डा। देवमणि भट्टराईका अनुसार फूलपाती अपराह्न भित्र्याउने वैदिक परम्परा भए पनि यसको लागि विशेष साइत आवश्यक पर्दैन।
नवरात्रको साधना विजयादशमी र कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने भएकाले बडादशैँ पर्वलाई पन्ध्र दिनसम्म उत्साहपूर्वक मनाइन्छ।


















Discussion about this post