सार्थक ब्यूरो। बडादसैँको अवसरमा मनाइने नवरात्रको अष्टमीका दिन आज (आश्विन शुक्ल अष्टमी) महागौरी देवीको विशेष पूजाआराधना भइरहेको छ। नौ दुर्गामध्येकी आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजा गर्ने परम्परा सनातनी वैदिक संस्कारमा प्राचीनकालदेखि चलिआएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यस वर्ष तिथिको वृद्धि भएकाले महागौरीको पूजा नवौँ दिनमा पर्न गएको हो। सामान्यतया यो पूजा नवरात्रको आठौँ दिनमा हुने गर्दछ।
धार्मिक किंवदन्तीअनुसार महागौरीको वर्ण प्रारम्भमा कालो थियो। भगवान् शिवले मजाकमा ‘ए काली’ भनेर सम्बोधन गरेपछि देवी अप्रसन्न भइ तपस्यामा लागिन् र पछि गोरो वर्ण प्राप्त गर्दै ‘महागौरी’ नामले परिचित भइन्। शास्त्रीय ग्रन्थअनुसार उनी श्वेतवस्त्रधारी, उज्यालो रूपकी, वृषभवाहिनी देवीका रूपमा चित्रित गरिन्छिन्।
यस वर्ष असोज ६ गते घटस्थापनासँगै नवरात्र सुरु भएको थियो। त्यसयता क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको आराधना सम्पन्न भइसकेको छ। सोमबार सप्तमीका दिन कालरात्रि देवीको पूजा गरिनुको साथै फूलपाती भित्र्याइएको थियो।
आज अष्टमीको दिन महागौरीको पूजा भइरहेको छ भने भोलि नवमीका दिन सिद्धिदात्री देवीको आराधना गरिनेछ। नवरात्र अवधिभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र विभिन्न स्तोत्र पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यस आराधनाबाट शक्ति, विद्या र समृद्धि प्राप्त हुने मान्यता छ।
यस पर्वमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। विशेषगरी फूलपातीदेखि दशैँको रौनक थप बढ्ने भएकाले काठमाडौं उपत्यकादेखि ग्रामीण भेगका मन्दिरमा समेत भक्तजनको घुइँचो देखिन्छ।


















Discussion about this post