सार्थक ब्यूरो। गाउँघरमा दशैँको रमाइलो, नयाँ लुगा र मीठोमसिनोको चर्चा भइरहेको बेला शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरमा बस्ने भूमिहीन परिवारहरू भने भोक, अभाव र पीडासँगै दशैँ काट्न बाध्य छन्।
६५ वर्षीया माथुदेवी दमाईं भन्छिन्, “दशैँमा मिठो खाने, नयाँ लुगा लगाउने मन नलाग्ने त हैन, तर पैसा छैन। हप्तामा एक दिन पाएको मजदुरीले साँझ बिहानको छाक टार्नै मुस्किल छ।” उनको स्वरमा दशैँको खुसीभन्दा जीवनको कठोर वास्तविकता झल्किन्छ।
शिविरमा रहेका प्रायः बुढाबुढी, महिला र बालबालिका मात्र छन्। कमाउने उमेरका युवाहरू भारततिर मजदुरी गर्न गएका छन्। “पतिको खबर आएको छ— तिहारमा मात्रै फर्किन्छु रे। यसपालि दशैँ खल्लो हुने नै भयो,” देउमती बोहराको आँखा रसाउँछ।
वनहरा नदी किनारमा टालटुलको झुपडीमाथि थापिएका त्रिपाल भित्र गर्मी सहन नसकेर धेरै परिवार राति पुलमुनि डोरीको खटिया वा बोरी ओछ्याएर सुत्छन्। रञ्जित रावत भन्छन्, “लामखुट्टेले टोकेर निद्रा नै पर्दैन। ओढ्ने–बिछ्याउने छैन, जसोतसो रात काट्छौँ।”
दुई दशकदेखि यस्तै कठिनाइमा बस्दै आएका २८ परिवारले जग्गा र आवासका लागि पटक–पटक निवेदन दिएका छन्। तर, राज्यको ध्यान कहिल्यै पुगेको छैन। “सुरुमा जनप्रतिनिधिले सहयोग गर्छौं भनेका थिए, अहिले त वास्तै गर्दैनन्। माग्न जान पनि छाडेका छौँ,” दलबहादुर बोहराको पीडा शब्दमै पोखिँदैन।
देशभर दशैँले खुसी ल्याइरहेको बेला वनहराका भूमिहीन परिवारहरू भने उत्सवभन्दा पनि भोकसँग जुधिरहेका छन्। उनीहरूको दशैँ फेरि पनि सपना बनेको छ— न नयाँ लुगा, न मिठोमसिनो, केवल बाँच्नकै संघर्ष।








Discussion about this post